काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४–०७५मा यातायात व्यवस्था विभागबाट २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार तीन सय ४७ रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले सातवटा शीर्षकबाट उक्त राजस्व संकलन गरेको हो ।
विभागले संकलन गरेको राजस्वमध्ये सबैभन्दा धेरै राजस्व सवारीसाधन करबाट उठाएको छ । गतवर्ष सवारीसाधन करवापत् १० अर्ब ६५ करोड ७६ लाख ९९ हजार एक सय ७९ रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा कम बेरुजु शीर्षकमा तीन लाख ८८ हजार आठ सय १० रुपैयाँ संकलन भएको छ ।
सडक निर्माण तथा संभार दस्तुरवापत् नौ अर्ब ४३ करोड ३३ लाख ९० हजार ७४ रुपैयाँ संकलन गरेको विभागले सवारी चालक अनुमतिपत्र र सवारी इजाजतपत्रको दस्तुरवापत् दुई अर्ब ८४ करोड ७० लाख ३३ हजार ६ सय १३ रुपैयाँ संकलन गरेको छ ।
यातायात क्षेत्रको आम्दानी शीर्षकमा ६८ करोड ६० लाख ७४ हजार सात सय ५२ रुपैयाँ उठाएको विभागले प्रशासनिक दन्ड–जरिवानावापत् ५४ लाख ६४ हजार सात सय २५ रुपैयाँ उठाएको छ ।
विभागले इम्बोस्ड नम्बर प्लेटबाट एक करोड ९५ लाख ६८ हजार एक सय ९४ रुपैयाँ संकलन गरेको छ ।
यसरी संकलन भएको सबैभन्दा धेरै राजस्व बागमती अञ्चल यातायात कार्यालयबाट भएको छ । बागमतीमा १४ अर्ब २८ करोड १० लाख ८१ हजार एक सय ६२ रुपैयाँ संकलन भएको थियो ।

