काठमाडौं । आन्तरिक हवाई सेवा कम्पनीहरूको हवाई भाडादर बढेको छ ।
नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँ बढाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्युल सरचार्ज बढाएको हो ।
गन्तव्य अनुसार हवाई भाडादर साढे ५ हजार रुपैयाँसम्म बढेको छ । फ्युल सरचार्जमा एयर फेयर र विमानस्थल सेवा शुल्क अलगै तिर्नुपर्ने छ ।
काठमाडौं-धनगढी रुटको फ्युल सरचार्ज एकैपटक ५ हजार ४८० रुपैयाँले बढे ११ हजार ९० रुपैयाँ पुगेको छ । त्यस्तै, योसँगै माउन्टेन फ्लाइटको भाडा ४ हजार २२५ रुपैयाँले बढेर ८ हजार ६१५ रुपैयाँ पुगेको छ ।
काठमाडौं-सुर्खेतको ४२८५ रुपैयाँले बढेर ८ हजार ६५७, काठमाडौं-नेपालगन्जको ४०४५ रुपैयाँले बढेर ८ हजार १८५, काठमाडौं- भद्रपुरको ३७२५ रुपैयाँले बढेर ७ हजार ५४०, काठमाडौं-पोखराको १९७० रुपैयाँले बढेर ३ हजार ९८५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, काठमाडौ-जनकपुर रुटको १६०० रुपैयाँले बढेर ३ हजार २३०, काठमाडौं-भरतपुरको १३३० रुपैयाँले बढेर २ हजार ६९०, काठमाडौं-विराटनगरको २९८० रुपैयाँले बढेर ६ हजार २०, काठमाडौं-भैरहवाको २५५५ रुपैयाँले बढेर ५ हजार १७० र काठमाडौं-सिमराको ११२० रुपैयाँले बढेर २ हजार २६० रुपैयाँ पुगेको छ ।

