काठमाडौं । काठमाडौं उपत्यकामा एकाबिहानै मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गरेको पाइएको छ ।
बुधबार ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गरेको सप्राइज चेकिङको क्रममा मापसे गरी सवारी चलाइरहेका १६ चालक कारबाहीमा परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ११ जना यात्रुबाहक सवारी साधन (भाडा बस, विद्यालय बस र भ्यान, भाडा हायस र भाडा टेम्पो), २ जना निजी कार, २ जना मोटरसाइकल तथा स्कुटर र १ जना ट्याक्टर चालक रहेका छन् ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै मापसेगरी गर्नु आफैंमा नियम विपरित तथा दण्डनीय कार्य रहेको ट्राफिकको भनाइ छ । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीमा चालकले मापसे तथा लापसे गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरेको छ ।
यसअघि साँझ ७ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएकोमा गुनासो आउन थालेपछि दिउँसो पनि मापसे चेकिङ सुरु गरिएको प्रहरीको भनाइ छ ।

