काठमाडौं । जर्मन लग्जरी कार निर्माता पोर्शले अहिलेसम्म बनाएको सबैभन्दा लग्जरी इलेक्ट्रीक एसयूभी ‘केयेन’ले खुबै चर्चा कमाइरहेको छ । यसको डिजाइन सबैलाई मन नपर्न सक्छ । तर, प्राविधिक रूपमा निकै बलियो भएको कारण यसको चर्चा धेरै भएको हो ।
ईभीको विकासमा चिनियाँ, कोरियन र अमेरिकी उत्पादक अगाडि देखिए पनि टेक्नोलोजी र प्रविधिको प्रयोगमा पोर्शले केयेन मार्फत बाजी मारेको छ ।
जर्मन कार निर्माताले केयेनलाई सुरूमा दुई भेरियन्टमा बजारमा उपलब्ध गराउँदैछ । दुवै भेरियन्ट अल ह्वील ड्राइभ सिस्टमको साथमा आउने छ । यसमा कम्पनीले पूरै प्रयोग गर्न मिल्ने १०८ किलोवाट आवरको ब्याट्री दिएको छ । इन्ट्री भेरियन्टमा ३०० किलोवाट क्षमताकोे मोटर छ । जबकि टप भेरियन्टमा ४०० किलोवाटको मोटर पाउन सकिन्छ ।
रोचक कुरा के छ भने पोर्श केयेनमा ४०० किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग भएको एसयूभीमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टमको प्रयोग गर्दा इलेक्ट्रीक मोटरले ६०० किलोवाट पावर ब्याट्रीमा पठाउँछ । जुन निकै स्मार्ट तरिकाले काम भएको छ ।

यसको चार्जिङ स्पीड पनि उत्कृष्ट छ । कम्पनीको दाबी मान्ने हो भने १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १६ मिनेट लाग्नेछ । १० मिनेट चार्जगर्दा ३२० किलोमिटरभन्दा बढी गुडाउन पुग्नेगरी ब्याट्री चार्ज हुनेछ । सिंगल चार्जमा यसले ६४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टमा देखिएको छ ।
पोर्श केयेनको टप स्पीड क्षमता २६० किलोमिटर प्रतिघण्टा छ । पोर्शले यसमा प्रयोग भएको मोटरलाई टर्बो इलेक्ट्रीक भनेको छ । आफ्नो आवश्यकता अनुसारले चालकले पावर र टर्क मिलाउन सक्नेछन् ।
सुरक्षाको हिसाबले पनि निकै ध्यान दिएर पोर्श केयेन तयार भएको छ । यसको दुवै भेरियन्टमा रियर ह्वील स्टेरिङ प्रयोग भएको छ । निकै प्रिमियम टर्बो सिरेमिक कम्पोजिट ब्रेकहरूको प्रयोग भएको एसयूभीमा पोर्शको ‘एक्टीभ राइड सिस्टम’ पाउन सकिन्छ । यसको सहायताले घुमाउरो बाटोमा पनि सहज तरिकाले गाडी चलाउन सकिनेछ ।

यात्राको लागि पर्फेक्ट बनाइएको केयेन एसयूभीमा अगाडि फ्रङ्समा ९० लिटर र पछाडि बुटमा ७८१ लिटर क्षमताको स्टोरेज पाउन सकिन्छ ।
केयेन इलेक्ट्रीक एसयूभीको भित्र कर्भ ओएलईडी प्यानल प्रयोग भएको छ । उक्त स्क्रीनलाई इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्टमेन्ट सिस्टममा बाँडिएको छ । दुवै स्क्रीन १४.२५ इन्चको छ । साथै, यात्रुको लागि १४.९ इन्चको छुट्टै डिस्प्ले उपलब्ध छ ।
अग्मेन्टेड रियालिटी टेक्नोलोजी भएको हेडअप डिस्प्ले उपलब्ध एसयूभीको एयर कन्डिसनको गुणस्तर पनि निकै राम्रो भएको विभिन्न रिभ्यूहरूमा देखिएको छ । साथै, सिटको गुणस्तर पनि निकै अब्बल देखिन्छ ।

