दिगो ब्राण्डमा आइएमईको इन्ट्री

काठमाडौं । दिगो ग्रुपले बिक्री गर्दै आएको लाइट कमर्शियल गाडीको व्यापार आइएमई मोटर्सको इन्ट्री भएको छ । दिगो ग्रुप र आइएमई मिलेर अब लाइट कमर्शियल विद्युतीय साधन बिक्री गर्ने भएका हुन् ।

‘हामी लामो समयदेखि ईभीको व्यापारमा छौं । सँगै आइएमई पनि अटोमोबाइल व्यवसायमा छ । त्यसैले हाम्रा बीच यो  व्यवसायका बारेमा लगभग समान धारणा भएको कारण साझेदारी गरेर जाने निधो भएको हो’, दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले मेरोअटोसँग भने ।

नेपालमा विद्युतीय माइक्रो भ्यानको सुरूवात गर्ने दिगो कम्पनीलाई पछिल्ला दिनमा अन्य कम्पनीले पछाडि धकेलेकै कारणले नयाँ साझेदारी हुन लागेको अनुमान लगाउन सकिन्छ ।

‘उहाँहरूको योजना र हाम्रो अनुभवलाई एक स्थानमा राखेर नयाँ रोडम्याप तयार गर्ने हाम्रो प्रयास हो । यसले पक्कै पनि नयाँ सिनर्जी ल्याउने छ’, आईएमई मोटर्सका कार्यकारी निर्देशक निसान ढकालले भने ।

दुवै कम्पनीको संयुक्त लगानीको कम्पनी निर्माण अन्तिम चरणमा पुगेको छ । अब चाँडै आधिकारिक घोषणा गर्ने र कारोबार सुरू गर्ने तयारी भइरहेको दुवै जनासँगको कुराकानीले पुष्टि गर्छ ।

दिगो ग्रुप मिसन जिरो इमिशन नारासहित विद्युतीय सवारीसाधनको प्रयोग बढाउन लबिङ गर्दै आएको संस्था हो । उसले विद्युतीय कमर्शियल भेहिकल ल्याएर बिक्री गर्दै आएको छ । साथै, चार्जिङ पूर्वाधार निर्माण र संचालनमा समेत उसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

आइएमईको प्रवेशसँगै दिगोका सवारीसाधन आक्रमक बजार विस्तारमा जाने अनुमान गर्न सकिन्छ । केही दिनमै विशेष कार्यक्रम गरेर यस साझेदारीको विषयमा जानकारी दिने उनीहरूले बताए ।


Back_to_top