यी हुन् ‘भ्यालु फर मनी’ नामले चिनिने ३ मोटरसाइकल

काठमाडौं । मोटरसाइकल मानिसले सहज यातायातको लागि किन्ने गर्छन् । कति मानिसले त मोटरसाइकलको सहारामा नै आफ्नो व्यवसाय संचालन गरिरहेका हुन्छन् ।

विहान उठेर दुध ओसार पसार गर्नेदेखि किराना पसलको सामान बोक्नेसम्म काम मोटरसाइकलमा नै गर्ने धेरै मानिस सहरमा नै भेटिन्छन् । पछिल्ला दिनमा पठाओ, टुटल जस्ता कम्पनीले राइडिङ एण्ड सेयरिङ सेवा प्रदान गर्न थालेसँगै मानिस ओसार पसार, विभिन्न अनलाईन सपिङ साइटको डेलिभरी, साना मझौला उद्योगका उत्पादन बजारीकरणसम्म मोटरसाइकलको प्रयोग हुँदै आएका छन् । यस्तोमा सहरी र तराइको क्षेत्रमा काम गर्ने मानिसको रोजाइमा साना र राम्रा मोटरसाइकल पर्ने गरेका छन् ।

यी काम गर्ने मानिसको रोजाईमा ‘भ्यालू फर मनी’ नामले चिनिने मोटरसाइकल पर्छन् । किन्दा धेरै रकम खर्च गर्नु नपर्ने, माइलेज धेरै दिने, सामान्य खर्चमा सर्भिस गर्न सकिने, पछि विक्री गर्नु पर्दा राम्रो रिसेल मूल्य आउने भएकाले धेरैको रोजाईमा यस्ता मोटरसाइकल पर्ने गरेका हुन् ।

यस्तोमा हामीले बजाज, होन्डा र हिरोका मोटरसाइकललाई ‘भ्यालु फर मनी’ मोटरसाइकलको रुपमा लिएका छौं ।

१. होन्डा साइनः होन्डा साइन नेपालमा सर्वाधिक सफल १२५ सीसी सेग्मेन्टको मोटरसाइकल हो । सहरदेखि तराई र पहाडमा पनि यसलाई रुचाउने धेरै ग्राहक रहेका छन् । उच्च माइलेज, उत्कृष्ट डिजाइन र राम्रो रिसेल भ्यालूको कारण होन्डा साइन निरन्तर सफल मोटरसाइकलको सूचीमा पर्दै आएको छ ।

स्याकार ट्रेडिङले नेपालमा विक्री गर्दै आएको होन्डा साइन दुई भेरियन्टमा विक्री हुँदै आएको छ । जसमा सिबी साइन र सिबी साइन एसपी रहेका छन् । कम्पनीले सिबी साइनको मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गरिरहेको छ भने सिबी साइन एसपीको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँ रहेको छ । यी दुबै भेरियन्टमा एउटै १२४.७३ सीसीको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०.१६ बीएच पावर प्रदान गर्छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सीका अनुसार यसले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ ।

२. हिरो सुपर स्प्लेन्डर १२५ः हिरोको नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल सुपर स्प्लेन्डर १२५ लाई ‘भ्यालु फर मनी’ उपनाम दिन हिच्किचाउनु पर्दैन । विशेषत दैनिक काममा जाने मानिसहरुले धेरै रुचाउने सुपर स्प्लेन्डरमा प्रयोग भएका टेक्नोलोजीका कारण पनि धेरै चर्चामा रहँदै आएको छ । हिरोले बनाएको आईस्मार्ट टेक्नोलोजी अहिले विश्व अटोमोवाइल बजारमा निकै चर्चित रहेको छ ।

नेपाल जनरल मार्केटिङले नेपालमा विक्री गर्दै आएको सुपर स्प्लेन्डरको मूल्य १ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम मूल्य र राम्रो रिसेल भ्यालुले यसमा धेरै मानिसले रुची देखाउने गरेका छन् । यसले प्रतिलिटर ५७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

३. बजाज पल्सर १५०ः ‘नाम नै काफी छ’ भन्ने उखान बजाज पल्सरमा निरन्तर लागु हुँदै आएको छ । नेपालमा विक्री सुरु भएदेखि नै पल्सर १५० धेरै मानिसको रोजाईमा पर्ने मोटरसाइकल हो । विगतदेखि नै नेपालमा सर्वाधिक विक्री हुने १५० सीसीको मोटरसाइकलमा बजाज पल्सर १५० पर्दै आएको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा विक्री गर्दै आएको पल्सर १५० पूर्णत ‘भ्यालू फर मनी’ मोटरसाइकल हो । विशेषत युवाहरुको रोजाइमा पर्ने यो मोटरसाइकल पनि रिसेल भ्यालु, स्पोर्टी डिजाइन र पावरको कारण चर्चामा रहँदै आएको मोटरसाइकल हो । यसको मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । एआरएआईले प्रमाणित गरे अनुसार पल्सर १५० ले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ ।

यहाँ उल्लेख भएका तीनवटै मोटरसाइकलको माइलेज एआरएआईले प्रमाणित गरे अनुसार उल्लेख गरिएको छ । तर, सडकमा गुडाउँदा भने प्रमाणित गरेभन्दा कम माइलेज दिन्छ ।


Back_to_top