अझै महंगो हुन सक्छ पेट्रोल र डिजेल

काठमाडौं । नेपाल आयल निगमले हिजो राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको हो ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च विन्दुमा पुगेको अवस्थामा नेपालमा पनि मूल्य वृद्धि गरिएको हो । भारत र नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा सरकारले लगाएको विभिन्न किसिमको कर प्रमुख कारण रहेको छ । सरकारले पूर्वाधार निर्माण कर, प्रदुषण कर, भ्याट लगायतका करहरु पेट्रोलियम पदार्थमा लगाउँदै आएको छ ।

भारतीय आयल निगम (आइओसी)ले पठाएको ४ दिनअघि पठाएको मूल्य अनुसार निगमलाई १५ दिनमा नै ६७ करोडभन्दा बढी नोक्सानी हुने देखेपछि मूल्य बढाउनु परेको निगमको भनाई छ । त्यसैले सोमवार मध्यरातबाट लागु हुनेगरि निगमले मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको १ सय १० रुपैयाँ प्रतिलिटर र डिजेल÷मट्टीतेलको ९३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

निगमको दाबीलाई मान्ने हो भने निगमलाई अझै पेट्रोलमा ५ रुपयाँ र डिजेलमा ३ रुपैयाँ घाटा छ । यसको मतलव अबको ११ दिनपछि आइओसीबाट आउने नयाँ मूल्य थप बढ्ने निश्चित जस्तै देखिएको छ । यस्तोमा भोलिका दिनमा पेट्रोलियम पदार्थको मूल्य थप महंगो हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढी रहेकाले तत्काल पेट्रोलियम पदार्थको मूल्य घट्ने छाँटकाँट देखिदैन । लकडाउनको समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अहिलेसम्मकै कम विन्दुमा आएको समयमा समेत मूल्य नघटाएको निगमलाई अहिले मूल्य वृद्धि गर्दा दबाब पर्न थालेको सहजै अनुमान गर्न सकिन्छ । सडकमा विद्यार्थी संगठनहरुले मूल्य वृद्धि फिर्ता लिनु पर्ने भन्दै आन्दोलन सुरु गरिसकेका छन् ।

यस्तो छ आज भारतमा पेट्रोलको मूल्य

भारतमा राज्य अनुसार मूल्य फरक हुने गर्छ । आजको मूल्य अनुसार जयपुरमा प्रतिलिटर पेट्रोलको मूल्य ९२ रुपैयाँ ६९ पैसा छ भने मुम्बाईमा प्रतिलिटर पेट्रोलको मूल्य ९१ रुपैयाँ ८० पैसा रहेको छ । भारतको चण्डीगढमा भने ८२ रुपैयाँ ४ पैसा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने आज ५२.३२ डलर प्रतिव्यारल रहेको छ । हिजो ५५ डलर रहेको थियो ।


Back_to_top