विद्युतीय कारको प्रयोग बढाउन सरकार, व्यवसायी र उपभोक्ताले लिनु पर्ने नयाँ बाटो

काठमाडौं । विद्युतीय गाडीको क्रेज बढ्दै गएको समयमा सरकारले करका दरमा वृद्धि गरेसँगै क्रेता र बिक्रेता दुबैमा अन्योलता सृजना भएको छ । विश्वभर सरकारले विद्युतीय गाडीमा अनुदान दिएर मानिसलाई विद्युतीय कार नै रोज्न लोभ्याइरहेको सममा नेपाल सरकारले विद्युतीय गाडी धेरै मानिसले किने भनेर कर बढायो ।

उसोत सरकार संचालन गरिरहेको राजनीतिक दल नेकपाले आफ्नो चुनावी घोषणा पत्रमा विद्युत उत्पादनको वृद्धि र विद्युतीय सवारी साधनलाई सौलियत दिएर सन् २०२० सम्ममा १० प्रतिशत र सन् २०२५ सम्ममा मुख्य सहरमा विद्युतीय सवारी साधन चलाउने नीतिनै लिएको भएपनि यसको पूर्ण कार्यान्वयन गर्ने बाटोको ठिक विपरित कर बढाएर आम नागरिकमा निरासा पैदा गराएको छ ।

यस्तोमा अहिले नेपालमा विद्युतीय गाडी किन्ने मानिसको मनमा थुप्रै दुविधा रहेको पाइन्छ । के अहिले विद्युतीय कार किन्ने सहि समय हो ? विद्युतीय गाडी कत्तिको भरपर्दो रहेको छ ? आफ्नो आवश्यकता यस्ता गाडीले पुरा गर्न सक्छन् ? जस्ता सामान्य प्रश्न धेरै ग्राहकले गर्ने गरेका छन् ।

सरकार, बिक्रेता कम्पनी र उपभोक्ताले केही न केही छाडेर विद्युतीय कार बिक्री हुने अवस्था सृजना गर्नु पर्छ । त्यसमा सबैभन्दा ठूलो भूमिका सरकार र बिक्रेता कम्पनीको रहने छ ।

विद्युतीय गाडीमा पछिल्लो दुई वर्ष नेपालको लागि स्वर्णयुग जस्तै थियो । पछिल्ला दुई वर्षमा करिब १ हजार यूनिट इलेक्ट्रीक कार बिक्री हुनु नै आफैँमा उत्शाहजनक विषय थियो । गाडी बिक्रेता कम्पनीहरुले पनि देशका विभिन्न भागमा चार्जिङ स्टेशन निर्माण गरेका थिए । उनिहरुले थप स्थानमा चार्जिङ स्टेशन निर्माणमा लगानी गर्दै थिए । नेपाल विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेशन निर्माणमा चासो देखाएको थियो । चौतर्फी इलेक्ट्रीक कारको माहोल बन्दै गरेको देखेर सरकारको आँखा लाग्यो । एकाएक बढेको करले इलेक्ट्रीक कारको आयात ठप्प भयो ।

अहिले पनि नेपाल आउने क्रममा रहेका (एलसी खोलिसकेका) विद्युतीय कार करिब ३ सय ५५ यूनिट रहेका छन् । तर, बिक्रेता कम्पनीमा ती गाडी नेपाल ल्याएर बिक्री गर्न सक्ने आत्मवल जुटेको छैन । चौतर्फी विरोधपछि मन्त्रीपरिषद्ले विद्युतीय कारमा लगाइएको अन्तःशुल्कमा केही छुटको घोषणा गर्यो । त्यसले मात्रैपनि गाडी बिक्री हुन्छ भन्ने बिक्रेताहरुलाई लागेको छैन । जेठ १५ अघि ५५ लाखमा बिक्री हुँदै आएको कार अब ७५ लाखभन्दा बढी मूल्यमा ग्राहकले खरिद गर्छन् वा गर्दैनन् भन्ने अन्योलता बिक्रेतामा पाइन्छ भने, जेठमा ५५ लाखको गाडी अहिले ७५ लाख किन तिर्ने भन्ने ग्राहकको भनाई रहेको छ ।

ग्राहकको दुविधा

ग्राहकको सबैभन्दा ठूलो दुविधा चार्जिङ स्टेशनको अभावले आफ्नो गन्तव्यमा पुग्न सकिन्छ वा सकिदैन भन्ने हो । साथै, घर भाडामा वस्ने मानिसले पनि यसलाई झन्झटिलो मान्दै आएका छन् । घरमा चार्जिङ गर्ने व्यवस्था मिलाउनै कठिन हुने धेरैको तर्क रहेको पाइन्छ ।

लामो यात्रामा गाडी लिएर निस्कनेहरुको रोजाइमा पनि विद्युतीय कार पर्दैनन् । उनिहरु आफ्नो यात्रामा गाडी चार्जको तनाव लिन चाहँदैनन् । त्यसैले उनिहरु पेट्रोलियम पदार्थबाट चल्ने कार नै किन्न रुचाउँछन् । उसोत सरकारले राती खेरजाने विजुलीको रकम घटाएर दिने घोषणा गरेको भएपनि ग्राहकमा त्यसको विश्वास छैन ।

किन किन्ने विद्युतीय कार

विद्युतीय कार किन्ने अधिकांश मानिस अहिलेपनि वातावरण प्रति सचेत वर्गका रहेका छन् । उनिहरु वातावरणमा पनि केही सहयोग गर्न सकिने, आवाज नआउने, हाइटेक प्रविधिको प्रयोग गर्न पाइने जस्ता कारण बिद्युतीय कार रोज्ने गरेका छन् । घरमा अर्को पेट्रल वा डिजल कार भएकाहरुले विद्युतीय कार किनेका छन् । उनिहरु लामो यात्रामा पेट्रोलियम पदार्थबाट चल्ने कार प्रयोग गर्छन् भने सहरी यात्रा र अफिस प्रयोजनमा विद्युतीय कार प्रयोग गर्दै आएका छन् ।

तुलनात्मक रुपमा सस्तो संचालन खर्च, सर्भिसमा खर्चमा कमी र आफ्नै देशमा उत्पादन भएको विद्युतबाट गाडी चार्ज गर्न सकिने जस्ता कारण उनिहरु विद्युतीय गाडी किन्न चाहन्छन् ।

अबको बाटो

सरकारले अहिले दिएको अन्तःशुल्क छुटले मात्रै विद्युतीय कारको बिक्री बढ्दैन । कम्तीमा १०० किलोवाट क्षमताको मोटर प्रयोग भएका विद्युतीय गाडीमा भन्सार घटाउनु पर्छ भने अन्तःशुल्क पूर्णत खारेज गरेमात्रै विद्युतीय गाडीको बिक्रीले बाटो समाउने छ । हरेक परिवारले गाडी किन्छ भने विद्युतीय कार पहिलो रोजाइमा राख्ने अवस्था सृजना गर्न सक्नु पर्छ । यसको सबैभन्दा ठूलो फाइदा राज्यलाई नै हुने छ ।

पेट्रोलियम पदार्थको आयात क्रमिकरुपमा घट्दै जाने छ भने हाम्रो विद्युतको बजार आन्तरिकरुपमा नै बढ्दै जाने छ । यसले नेपालमा उर्जा विकासको सम्भानालाई थप प्रोत्साहन गर्ने छ । हाम्रो वातावरणमा निकै ठूलो परिवर्तन आउने छ । समग्रमा विद्युतीय कारको प्रयोग बढ्दा, मानव स्वास्थ्य, वातावरण, स्वदेशी स्रोतको परिचालन र उर्जामा आत्मर्निभरताको बाटो भेट्टाउन सकिन्छ ।

यसलाई साकार गर्न सरकार, बिक्रेता कम्पनी र उपभोक्ताले केही न केही छाडेर विद्युतीय कार बिक्री हुने अवस्था सृजना गर्नु पर्छ । त्यसमा सबैभन्दा ठूलो भूमिका सरकार र बिक्रेता कम्पनीको रहने छ ।


Back_to_top