तिहारमा गाडी किन्दा सबैभन्दा धेरै डिस्काउन्ट पाइने ५ मोडल

काठमाडौं । कुनै समय नेपालमा ‘कार होइन, डिस्काउन्ट’ बिक्री हुन्छ भन्ने अवस्था थियो । ग्राहकहरुले मैले त यति छुट पाए भनेर गर्व गर्ने अवस्था बनाएको कारण डिस्काउन्टमा बिक्रेताहरुले पनि जोड दिन्थे ।

अहिले समय फेरिदै गएको छ । अधिकांश कम्पनीले नगद छुटलाई १ लाखदेखि १ लाख ५० हजार रुपैयाँमा सिमित गरेका छन् । उनिहरु छुट होइन गाडी बिक्री गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न लागि परेका छन् ।

अझै एक कदम अगाडि बढेर ईभी बिक्रेताहरुले ‘नो डिस्काउन्ट’ नीति अंगिकार गरेका छन् । सन् २०१७/१८ ताका एउटै गाडीमा २० लाख रुपैयाँसम्मका अफर चल्थे । अहिले त्यो घटेर ८ लाख रुपैयाँसम्म मात्रै सिमित भएको छ । त्यो पनि कुनै स्पेसिफिक मोडलमा मात्रै छुट पाउन सकिन्छ ।

बजारमा चल्तीमा रहेका अधिकांश मोडलमा अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म डिस्काउन्ट पाउन सकिने अवस्था छ । त्यो पनि ४० लाख माथिका गाडीमा मात्रै ।

अहिले दशैं–तिहार स्कीम अधिकांश कम्पनीले दिइरहेका छन् । चाडपर्वमा गाडी बिक्रेताले स्कीम ल्याउँछन् भनेर कुर्ने ग्राहकले अहिले ८ लाखसम्म छुट पाउने छन् । घोषित रुपमा धेरै नगद छुट भएका कारहरु यस प्रकार छन् ।

निसान एक्सट्रायल

निसानको कम्प्याक्ट एसयूभी एक्सट्रायल धेरैलाई मन पर्ने मोडल हो । पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको एक्सट्रायलमा ग्राहकले नगद ८ लाख रुपैयाँ छुट पाउने छन् ।

कम्पनीले १ कराेड ५० लाख रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको एक्सट्रायल निसानको सफल मोडल हो । अघिल्ला जेनेरेशनदेखि नै एक्सट्रायल नेपालमा राम्रै संख्यामा बिक्री हुँदै आएको थियो । २.० लिटर इन्जिनमा उपलब्ध एक्सट्रायल जापानमा उत्पादन भएर नेपाल आउने छ ।

होन्डा सिटी

होन्डाको कम्प्याक्ट सेडान कार सिटी पनि धेरै डिस्काउन्ट उपलब्ध कार हो । तर, होन्डा सिटी उत्पादन वर्ष २०१८ भएको मोडलमा मात्रै धेरै डिस्काउन्ट उपलब्ध रहेको बिक्रेताको भनाइ छ ।

स्याकार ट्रेडिङले बिक्री गर्दै आएको होन्डा सिटी २०१८ मोडलमा पनि ८ लाख रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने छ । यसको मूल्य ५५ लाख रुपैयाँ रहेकोमा अहिले ४८ लाख रुपैयाँमा बिक्री गर्न सकिने कम्पनीले जनायो ।

हुन्डाई प्यालिसेड र शान्ताफे

धेरै छुटको मामालामा हुन्डाईका दुई मोडल उदार देखिएका छन् । कम्पनीले आफ्नो सबैभन्दा ठूलो एसयूभी प्यालिसेडमा नगद ६ लाख रुपैयाँ छुट दिने जनाएको छ । अहिले बजारमा २ करोड ३५ लाख ९६ हजार मूल्य तोकेर प्यालिसेडको बिक्री हुँदै आएको छ ।

लक्ष्मी इनटरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको हुन्डाईको टुसानमा पनि नगद ३ लाख रुपैयाँसम्म छुट दिने कम्पनीको भनाइ छ ।

हाभल एच ६

ग्रेटवाल मोटर्सको एच ६ एसयूभीमा कम्पनीले नगद २ लाख ५० हजार रुपैयाँ छुट दिएको छ । अन्य विविध र्शिषकमा दिइएका छुटले झण्डै ५ लाख ५० हजार छुट हुने भनिएको एच६ को मूल्य १ करोड १६ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसलाई भिजी इम्पेक्सले नेपालमा बिक्री गर्दै आएको छ ।

 


Back_to_top