काठमाडौं । नेपाली बजारमा कार बिक्री निक्कै कम हुने गरेको छ । हाम्रो देशमा वर्षमा १०/१५ हजार यूनिट मात्र कार बिक्री हुने गरेको छ । त्यसोत नेपालमा अहिले कुनै किसिमको कार उत्पादन समेत हुने गरेको छैन । कुनै समय हुलास मोटर्सले कार उत्पादन गरेको भएपनि अहिले त्यो बन्द भइसकेको छ ।
आयातित कार बिक्रीमा मारुती सुजुकी, हुन्डाई, फोर्ड, टाटा, टोयोटा, रेनो, कियालगायत कम्पनीका कार धेरै बिक्री हुने गरेका छन् । सानो बजार भएकाले उपलब्ध कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा रहेको छ । नेपालमा कुन मोडल सर्वाधिक बिक्री हुन्छ भन्ने तथ्यांक बाहिर आउन सकेको छैन ।
तर विश्व बजारमा भने सवारी उत्पादकहरुले मोडल अनुसार नै तथ्यांक सार्वजनिक गर्दै आएका छन् । यहाँ विश्व बजारमा सर्वाधिक बिक्री हुने मोडल कुन हो भन्ने उल्लेख गरिएको छ ।
यस्तो छ विश्व बजारमा सार्वधिक बिक्री हुने १० कार:
१. फोर्डको एफ–सिरिज

अमेरिकी कम्पनी फोर्डले २०१८ मा १० लाख ७६ हजार १ सय ५३ वटा एफ–सिरिज पिकअप बिक्री गरेको थियो । २०१७ को तुलनामा गत वर्ष फोर्ड एफ सिरिजको बिक्री स्थिर देखिएको छ ।
२. टोयोटा कोरोला

जापानी कार उत्पादक कम्पनी टोयोटाको कोरोला मोडल २०१८ मा विश्वभरमा ९ लाख ३४ हजार ३ सय ४८ कार बिक्री गरेको थियो । यो ०१७ को तुलनामा १ प्रतिशतले धेरै हो । टोयोटा कोरोला नेपाली सडकमा पनि गुड्दै आएको छ ।
३ होन्डा सिभिक

जापानी कार उत्पादक कम्पनी होन्डाले २०१८ मा आफ्नो चर्चित मोडल सिभिक ८ लाख १२ हजार ७ सय ६७ वटा बिक्री गर्न सफल भएको छ । सिभिकको बिक्री अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढेको देखिन्छ ।
४. टोयोटा र्याभफोर

टोयोटाको र्याभफोर २०१८ मा विश्वभर ८ लाख ७ हजार १ सय १६ वटा बिक्री भएको छ । र्याभफोरको बिक्री ०१७ को तुलनामा गत वर्ष ४ प्रतिशतले बढेको हो । टोयोटा ¥याभफोर नेपाली बजारमा समेत उपलब्ध रहेको छ ।
५. निसान एक्स–ट्रायल/रग

जापानी कार उत्पादक निसानको एक्स–ट्रायल÷रग ०१८ मा ७ लाख ७१ हजार १ सय ४५ वटा बिक्री भएको तथ्यांक छ । यो गाडीको बिक्री अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले गिरावट आएको हो । निसानको एक्स–ट्रायल नेपाली बजारमा उपलब्ध रहेको छ ।
६. होन्डा सीआर–भी

होन्डाको एसयूभी सेगमेन्टको गाडी सीआर–भी ०१८ मा विश्वभर ७ लाख ३६ हजार ४ सय ७१ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले गिरावट आएको हो । होन्डा सीआर–भी नेपाली बजारमा समेत उपलब्ध रहेको छ ।
७. फक्सवागन गल्फ

जर्मन कार उत्पादक कम्पनी फक्सवागनले उत्पादन गरेको गल्फ कार २०१८ मा ७ लाख ३१ हजार ५ सय ६१ वटा बिक्री भएको तथ्यांक छ । यो कारको बिक्री अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको हो ।
८. फक्सवागत पसाट/मगोटन

फक्सवागनकै सेडान कार पसाट÷मगोटन ०१८ मा ६ लाख ६० हजार ४ सय ५३ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले कम हो । फक्सवागन पसाट नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ ।
९. सेब्रोले सिल्भराडो

अमेरिकी कार उत्पादक कम्पनी सेब्रोलेको पिकअप सिल्भराडो ०१८ मा ६ लाख ५० हजार ६ सय ५४ वटा बिक्री भएको छ । सेब्रोले सिल्भराडोको बिक्री ०१७ को तुलनामा १ प्रतिशतले घटेको हो ।
१०. होन्डा एचआर–भी/एक्सआर–भी/भेजिल

विभिन्न देशमा भिन्न नाम एचआर–भी, एक्सआर–भी र भेजिल बाट बिक्री हुँदै आएको होन्डाको यो गाडी ०१८ मा ६ लाख ४६ हजार १ सय ४४ वटा बिक्री भएको हो । यो कारको बिक्री ०१७ को तुलनामा ६ प्रतिशतले गिरावट आएको छ ।


