गाडी किन्नेले ऋण लिन छाड्दै,

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गाडी किन्ने ग्राहकलाई दिदै आएको कर्जा घट्दो क्रममा रहेको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले सवारी कर्जा (हायर पर्चेज लोन) अन्तर्गत कुल १ खर्ब ६६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ३९ अर्ब रुपैयाँ र विकास बैंक, फाइनान्स कम्पनी लगायतले २७ अर्ब कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । कुल सवारी कर्जामध्ये वाणिज्य बैंकहरूको हिस्सा ८८ प्रतिशत रहेको छ ।

पछिल्ला केही वर्षको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूको सवारीसाधन खरिदका लागि दिने कर्जा रकम घट्दै गएको देखाउँछ । कोरोना महामारीले मानिसहरूको रोजगारी गुमेर आर्थिक स्थिति कमजोर बन्नु, पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, राष्ट्र बैंकले महँगा मूल्यका गाडी आयातमा गरेको कडाइ लगायत कारणले यस क्षेत्रमा बैंकहरूको कर्जा घटेको हो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा बैंक तथा वित्तीय संस्थाको सवारी कर्जा करिब साढे १४ अर्ब रुपैयाँँले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेजमा १ खर्ब ८० अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए भने, २०७८/७९ असोजसम्म आइपुग्दा यस्तो कर्जा घटेर १ खर्ब ६६ अर्ब ४ करोड २२ लाख रुपैयाँमा सीमित भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधनमा १ खर्ब ७४ अर्ब ५८ लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।

हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले हायरपर्चेज शिर्षकमा १ खर्ब ३९ अर्ब ऋण लगानी गरेका छन् । सोमध्ये ग्लोबल आईएमइ बैंकले सबैभन्दा धेरै ११ अर्ब ४ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सवारीसाधनमा धेरै ऋण लगानी गर्ने दोस्रो बैंकमा एनआइसी एसिया रहेको छ । एनआइसीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म सवारीसाधन खरिदका लागि ९ अर्ब ३ करोड ९२ लाख रुपैयाँ कर्जा दिएको छ ।

त्यसैगरी, धेरै पर्चेज कर्जा कर्जा प्रवाह गर्ने बैंकहरूमा सिद्धार्थ बैंक ७ अर्ब ९ करोड २३ लाख, प्राइम कमर्शियल बैंक ७ अर्ब १ करोड ९४ लाख, हिमालयन बैंक ६ अर्ब ८८ करोड, माछापुच्छे ६ अर्ब ७९ करोड, नेपाल बंगलादेश बैंक ६ अर्ब ५१ करोड, प्रभु बैंक ६ अर्ब २५ करोड रहेका छन् ।

सवारी साधनमा सबैभन्दा कम कर्जा अर्थात ऋण लगानी गर्ने बैंकमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मीले सवारीसाधन खरिदका लागि २ अर्ब २ करोड २२ लाख रुपैयाँँ कर्जा दिएको छ ।


Back_to_top