काठमाडौं । टोयोटाले ‘आज्ञा’ नामबाट ह्याचव्याक कारको भारतमा पेटेन्ट दर्ता गरेको छ । यो ह्याचव्याक कम्पनीले भारतमा उत्पादन गर्ने छ ।
डायहात्सुले इन्डोनेशियामा आज्ञा नामबाट ह्याचव्याक कार विक्री गर्दै आएको छ भने केही बजारमा टाेयाेटा ब्राण्ड पनि विक्री हुँदै आएको छ । डायहात्सु टोयोटाको स्वामित्वमा रहेको कम्पनी हो । यस्तोमा भारतीय बजारमा भने टोयोटा ब्राण्ड नेमबाट आज्ञाको पेटेन्ट दर्ता भएको छ ।
टोयोटा आज्ञामा अगाडि निकै ठूलो हेक्जागोनल ग्रिल, ट्रायाङ्गुलर फगल्याम्प हाउजिङ, स्लीक हेडल्याम्प, अलोय ह्वील, भारतमा १.० र १.२ लिटर इन्जिन रहने अनुमान गर्न सकिन्छ । इन्डोनेशियामा विभिन्न ४ इन्जिन अप्सनमा आज्ञा उपलब्ध रहेको छ ।
भारतमा ह्याचव्याक सेग्मेन्टमा सर्वाधिक सफल इन्जिन १.२ लिटरको भएकोले टोयोटा आज्ञामा पनि १.२ लिटर फोर सिलिण्डर ड्यूल भिभिटी–आई इन्जिन रहने अनुमान गर्न सकिन्छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८८ पीएस पावर र ४२०० आरपीएममा १०८ एनएम पीक टर्क प्रदान गर्छ ।
टोयोटा आज्ञामा के कस्ता फिचर समावेश हुनेछन् भन्ने विषयमा केही जानकारी दिइएको छैन । यद्यपी भारतमा टोयोटाले नयाँ ह्याचव्याक कार भने ल्याउने छ । अहिले बजारमा विक्री वितरण भइरहेको फक्सवागन पोलो, मारुती सुजुकी स्वीफ्ट, हुन्डाई ग्राण्ड आई १० नियोस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा अहिले टोयोटाको ठूला र महंगा एसयूभी मात्रै विक्री हुँदै आएको छ । यस्तोमा भारतमा उत्पादन हुने नयाँ ह्याचव्याक कार नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।


