अर्को वर्ष भारतमा इलेक्ट्रीक एसयूभी बनाउँदै टोयोटा

काठमाडौं । विश्वकै सर्वाधिक धेरै कार उत्पादन गर्ने टोयोटाले भारतमा ईभी उत्पादनको समयसीमा घोषणा गरेको छ । कम्पनीले सन् २०२५ मा भारतमा ईभी उत्पादन र बिक्री गर्नेगरी काम भइरहेको जनाएको हो ।

सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरिरहेको ईभीएक्समा आधारित टोयोटाको एसयूभी डिजाइनमा भने निकै पृथक हुने अनुमान गरिएको छ । सुजुकीले मार्च २०२५ बाट ईभीएक्स बिक्री सुरु गर्ने जनाएको छ । त्यसको ६ महिना भित्रै टोयोटाको ईभी बजारमा आउने बताइन्छ ।

टोयोटाले अर्वान एसयूभीको रुपमा ल्याउने नयाँ मोडल सुजुकी कै ईभीएक्स बन्ने ‘२७ पीएल स्केडबोर्ड प्लेटफर्म’मा बन्ने छ । कम्पनीले यसलाई दुई ब्याट्री अप्सन, दुई ड्राइभिङ सिस्टम र दुई मोटर पावरमा ल्याउने अनुमान गरिएको छ ।

अहिले बजारमा रहेको टोयोटा हाइराइडरको साइजमा उपलब्ध हुने नयाँ इलेक्ट्रीक एसयूभीको नाम ‘बीजेड’ रहने अनुमान गरिएको छ । उक्त कम्प्याक्ट एसयूभीमा ४८ किलोवाट आवर र ६० किलोवाट आवरको ब्याट्री रहनेछ ।

त्यसैगरी फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टमको साथ आउने एसयूभीको रेन्ज ४०० किलोमिटरदेखि ५०० किलोमिटर भित्रै रहनेछ । यसको मोटर पावर पनि दुई अप्सनमा आउने छ । त्यसको विवरण भने बाहिर आएको छैन ।


Back_to_top