काठमाडौं । टोयोटाले सन् २०१६ मा पहिलो पटक बजारमा ल्याएको क्रसओभर डिजाइनको ‘सी-एचआर’ मोडल अब प्लगइन हाइब्रिड सिस्टममा उपलब्ध हुने भएको छ । कम्पनीले यसमा प्लगइन हाइब्रिड टेक्नोलोजी प्रदान गर्नुको साथै डिजाइनमा पनि ब्यापक परिमार्जन गरेर बजारमा ल्याउन लागेको हो ।

टोयोटाले यसलाई ‘प्रोलग कन्सेप्ट’मा आधारित रहेर तयार गरेको हो । यसलाई सी-एचआरको सेकेन्ड जेनेरेशन मोडलको रुपमा अन्तर्राष्ट्रिय बजारमा टोयोटाले प्रस्तुत गर्ने छ ।
सार्वजनिक भएको तस्विर अनुसार नयाँ सी-एचआर सिल्भर, व्ल्याक र अरेन्ज कलरको ट्राइकलर फिनिसिङमा आकर्षक देखिएको छ । यसको ओभरअल लुक्सले टोयोटाले केही अघि मात्रै देखाएको क्राउन र प्रियस मोडलको झल्को दिन्छ ।
नयाँ सी-एचआरको अगाडिको फेसिया निकै आकर्षक देखिन्छ । स्लीम एलइडी हेडलाइट, सानो ग्रिल र सार्प डिजाइनको कारण यसले धेरैलाई आकर्षित गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।
टोयोटाले फ्रन्समा रहेको आफ्नो डिजाइन आउसबाट तयार पारेको सी-एचआरमा ठूलो अलोय ह्वील, फरक स्थानमा दिइएको रियर डोर ह्याण्डल, लामो ह्वील वेस यसको बलियो पक्ष हुने अनुमान गरिएको छ । टोयोटाले यसमा रहेको इन्जिन साइज, पावर, मोटर, ब्याट्री साइज र रेन्जको विषयमा केही कुरा पनि बाहिर ल्याएको छैन ।

