१०६८ किलोमिटर रेन्ज दिने रिडारा, चिसो ठाउँको लागि उपयुक्त

काठमाडौं । जिली अटोमोबाइल्स ग्रुपको इलेक्ट्रीक पिकअप रिडारा अब हाइब्रिड मोडलमा पनि उपलब्ध भएको छ । चिनियाँ निर्माताले प्लगइन हाइब्रिड मोडलको रूपमा १०६८ किलोमिटर रेन्ज दिनेगरी रिडारा पिकअप ल्याएको हो ।

चीनमा किङकङ भनेर चिनिने नेपालमा रिडारा नामबाट प्योर इलेक्ट्रीक मोडलको रूपमा बिक्री हुँदै आएको छ । हाइब्रिड मोडललाई नेपालको कर प्रणालीले सपोर्ट नगरेको कारण आयातकर्ताले ल्याएका छैनन् ।

‘रिडारा हाइ अल्टीट्युड एडिसन’ नामबाट चीनमा बिक्री सुरू भएको प्लगइन हाइब्रिड मोडल फोर ह्वील ड्राइभ सिस्टमको साथ बजारमा छ । १.५ लिटर क्षमताको टर्बो इन्जिन र थ्री स्पीड डीएचटी मोटर यसमा दिइएको छ । यसको पिक पवार ३४९ पीएस छ भने ९१४ न्युटन मिटर टर्क प्रदान गर्छ ।

यसको प्योर ईभी रेन्ज भने १०० किलोमिटर सीएलटीसी टेस्टले देखाएको छ । त्यसको लागि १९.०९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । कम्पनीले कठिन बाटोको लागि भन्दै ल्याएको प्लगइन हाइब्रिड मोडलको टर्निङ रेडियस ६.५ मिटर मात्रै छ । चारवटै चक्कामा इन्डिपेन्डेन्ट सस्पेन्स भएको कारण कठिन भू-भागमा पनि यसले उत्कृष्ट पर्फमेन्स गर्नेछ ।

गाडीले खाली भएको समयमा शून्यदेखि १०० किलोमिटरको एक्सेलेरेशन केबल ६.३ सेकेण्डमा भेट्टाउने छ । यदि, पूर्ण लोड भएको समयमा हो भने ८.६ सेकेण्ड लगाउने छ ।

माइनस ३० डिग्रीसम्मको चिसोमा उत्कृष्ट पर्फमेन्स गर्न सक्नेगरी यसको थर्मल व्यवस्थापन गरिएको छ । हिउँले भरिएको बाटोमा पनि यसको फोरह्वील ड्राइभ सिस्टमले उत्कृष्ट कार्य गर्नेछ ।

प्योर ईभी मोडलमै जस्तो एड्भान्स टेक फिचर्स उपलब्ध पिकअपको क्याबिन पनि निकै लग्जरी छ ।


Back_to_top