४० दिनपछि भारतमा सार्वजनिक हुँदै टोयोटा ग्लान्जा, आउला नेपाल ?

टोयोटा किर्लाेस्कर मोटर्स भारतले मारुती सुजुकी बलेनोलाई आफ्नो व्याचमा निर्माण गरेको प्रिमियम ह्याचव्याक कार आगामी जुन ६ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले उक्त मोडलको कोडनेम ‘ए–११’ दिएर निर्माण गरिरहेको छ । जसलाई किर्लोस्कर मोटरका डेपुटी प्रबन्ध निर्देशक एन राजाले पुष्टि गरेका हुन् । 

भारतीय बजारमा टोयोटा मोटर्स र मारुती सुजुकीबीच भएको सम्झौँता अनुसार सुजुकीको प्रिमियम ह्याचव्याक कार बलेनो टोयोटाको व्याचमा ‘ग्लान्जा’ नामबाट आउने आँकलन गरिएको छ । अधिकांश फिचरहरु बलेनोकै रहने टोयोटा ग्लान्जा ह्याचव्याक कारमा अगाडिको बम्पर, ग्रिल र हेडलाईट भने परिवर्तन हुने अनुमान गरिएको छ ।

हाल, भारतको कर्नाटक स्थित टोयोटा प्लान्टमा उत्पादन भइरहेको नयाँ ग्लान्जा कारमा सुजुकी बलेनोको १.२ लिटर के सिरीज पेट्रोल र १.२ लिटर डबलजेट पेट्रोल इन्जिन लगाउने बताइएको छ । 

दुबै कम्पनीको सहकार्य बमोजिम मारुती सुजुकी एर्टिगा, भिटारा ब्रेजा र सियाज क्रश ब्याजमा निर्माण हुने छन् । यी मोडलको बिक्री भारत र अफ्रिकी बजारमा हुने कम्पनीले जनाएको छ । यसको साथै सुुजुकीले टायोटाको सि–सेग्मेन्ट एमपीभी आफ्नो व्याचमा उत्पादन गर्ने तयारी गरिरहेको छ । 

टायोटा व्याचमा आउने नयाँ ग्लान्जाले बजारमा फक्सवागेन पोलो, हुन्डाई आई–२० र होन्डा ज्याजसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा टोयोटा र मारुती सुजुकीका उत्पादनहरु बिक्री वितरण भइरहेका छन् । यस्तोमा टोयोटा व्याचमा आउने ग्लान्जा नेपाली बजारमा भने नआउने निश्चित प्राय रहेको छ । यी दुई कम्पनी बीचको सम्झौँतामा भारतीय र अफ्रिकी बजारमा मात्रै क्रस मोडल बिक्री गर्ने उल्लेख भएकाले ति उत्पादन नेपाली बजारमा आउने छैनन् ।

यसको भारतीय बजारमा मूल्य ६ लाख ५० हजारदेखि ९ लाख भारतीय रुपैयाँसम्म रहने अनुमान गरिएको छ ।


Back_to_top