आफ्नो पहिलो ईभीको नाम फेर्दै टोयोटा, थपिए नयाँ फिचर

काठमाडौं । जापानी अटोमोबाइल ब्राण्ड टोयोटाले सन् २०२२ मे १२ मा पहिलो पटक सार्वजनिक गरेको आफ्नो इलेक्ट्रीक एसयूभी बीजेडफोरएक्सको नाम परिवर्तन गर्ने भएको छ । कम्पनीले बजारमा आएको ३ वर्षपछि अमेरिकी बजारको लागि यसको नाम नै परिवर्तन गर्न लागेको हो ।

बियोन्ड जिरो (बीजेड) नामको सब ब्राण्ड स्थापना गरेको टोयोटाले अपग्रेड भएको बीजेडफोरएक्सको नाम नै अमेरिकाको लागि ‘बीजेड’ मात्रै राख्ने भएको हो । चीनमा बीजेड थ्री एक्स, बीजेड-फाइभ र बीजेड-सेभेन जस्ता मोडल कम्पनीले देखाइसकेको छ ।

यसका अलावा भारतमा उत्पादन हुने ईभी मोडललाई अर्बान क्रुजर नाम दिन लागेको टोयोटाले आफ्नो पहिलो मोडलमा व्यापक परिमार्जन गरेर अमेरिकी बजारमा बिक्री थाल्ने भएको हो । युरोपमा भने कुन नाम प्रयोग हुन्छ एकिन जानकारी दिएको छैन ।

पहिलेको तुलनामा बीजेड मोडलको फ्रन्ट ग्रिलमा अनर पाउन सकिन्छ । पहिले प्रयोग भएको ह्यामरहेड फ्रन्टलाई परिवर्तन गरेर नयाँ एलईडी लाइटसँगै आक्रमक देखिने एयर इन्टेकको प्रयोग गरेको छ । यसमा १८ र २० इन्चको दुई ह्वील साइज दिइएको छ ।

टोयोटाको ४६९० एमएम लामो ईभीमा बाहिरी बनोट धेरैहदसम्म पहिलेकै छ । तर, इन्टेरियरमा भने व्यापक परिमार्जन पाउन सकिन्छ । कम्पनीले यसमा १४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । दुई वायरलेस चार्जर, प्याडल सिफ्टरसहितको स्टेरिङ ह्वील, एम्बियन्ट लाइट दिएको छ ।

टोयोटाले सबैभन्दा ठूलो परिवर्तन मोटर र ब्याट्रीमा गरेको छ । नयाँ बीजेडमा फ्रन्ट ह्वील ड्राइभमा १६५ किलोवाटको मोटर छ । जबकि बीजेडफोरएक्समा १५० किलोवाटको मोटर थियो । अल ह्वील ड्राइभमा यसअघि १६० किलोवाटको मोटर थियो ।

अहिले नयाँ बीजेडमा २५२ किलोवाटको मोटर छ । टोयोटाले यसमा रहेको ब्याट्री पनि परिवर्तन गरेको छ । उसले फ्रन्ट ह्वील ड्राइभ मोटरको साथ ५७.७ किलोवाट आवर र अल ह्वील ड्राइभमा ७४.७ किलोवाट आवरको ब्याट्री दिएको छ । सानो ब्याट्रीले ३८० किलोमिटर र ठूलो ब्याट्रीले ५०५ किलोमिटर रेन्ज दिनेछ ।


Back_to_top