चर्चित एसयूभी ‘रेज’ नेपाल आउँदै, टोयोटाको सबैभन्दा कम मूल्यको एसयूभी बन्ने

काठमाडौं । टोयोटाले आफ्नो चर्चित एसयूभी ‘रेज’ नेपाल ल्याउने भएको छ । सब फोर मिटर सेग्मेन्टमा बजारमा आउने राइज मूल्यको हिसावले भने हुन्डाई क्रेटा, स्कोडा कुशक, किया सेल्टोससँग नजिक हुने अनुमान गर्न सकिन्छ ।

गतवर्षबाट जापानमा विक्री सुरु भएको ‘रेज’ सम्भवत दशैंअघि नै नेपाल आउन सक्ने छ । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार राइज नेपाल आउने पक्का भएको छ ।

‘सम्भव भएसम्म दशैंअघि नै ‘रेज’ नेपाल आउँछ, नभए तिहार अघिबाट विक्री सुरु गर्न सकिन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले ‘रेज’ नेपाल आउने बताएपनि यसमा रहेको इन्जिन, पावर र ड्राइभिङ सिस्टमको विषयमा कुनै जानकारी दिएको छैन । अन्तर्राष्ट्रिय बजारमा टोयोटा ‘रेज’ दुई इन्जिन अप्सन र दुई फरक ड्राइभिङ सिस्टममा उपलब्ध रहेको छ ।

टोयोटाले ‘रेज’मा १.० लिटर, वानकेआर-भिइटी टर्बो र १.५ लिटर नेचुरल्ली एस्पिरेडेड इन्जिन दिएको छ भने, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम प्रदान गरेको छ ।

निकै प्रिमियम देखिने क्याविनको साथ उपलब्ध हुने ‘रेज’मा टोयोटाले सबै किसिमका आधुनिक फिचर प्रदान गरेको छ । ‘रेज’को लम्बाई ३९९५ एमएम रहेको छ । जुन नेपाली बजारमा उपलब्ध हुन्डाई भेन्यू, किया सोनेट, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इको स्पोर्ट, रेनो काइगर, निसान म्याग्नाइटको बराबर नै हो । तर, यसमा दिइएको फिचरहरु भने माथि उल्लेखित गाडीमा भन्दा धेरै हुने छ । सोही कारण यसको मूल्य बढी रहने अनुमान गर्न सकिन्छ ।

१७ इन्चको ठूलो टायर, एङ्गुलर बम्पर, ट्रापाजोइड ग्रिल, एलइडी हेडल्याम्प र टेलल्याम्प, डिजिटल टिएफटी डिस्प्ले, इन्फोटेन्टमेन्ट सिस्टम, ठूलो बुट स्पेश, कम तौल, बलियो बडी स्टक्चर टोयोटा ‘रेज’को सबल पक्ष हो ।

अहिले टोयोटाले नेपालमा विक्री गर्दै आएको सबै गाडीको मूल्य ८० लाखभन्दा माथि रहेको छ । यसको मूल्य त्योभन्दा कम हुने भएकाले यो टोयोटाले नेपालमा विक्री गर्ने सबैभन्दा कम मूल्यको एसयूभी हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top