काठमाडौं । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्ना केही पुराना मोडलमा समस्या आएपछि गाडी मेन्टीनेन्सको लागि फिर्ता बोलाएको छ ।
कम्पनीले सन् २००६ देखि २०१० सम्म उत्पादन भएका गाडीमा रहेको एयरव्यागमा समस्या आएपछि फिर्ता बोलाएको हो । त्यतिवेला नेपालमा विक्री भएका यारिस, कोरोला र इको कारमा रहेको एयरव्याग परिवर्तन गर्नु पर्ने भएको कम्पनीले जनाएको छ ।
‘हामी बजारमा रहेका कुनैपनि गाडीले भोलि आउने समस्या भोग्नु नपरोस् भन्नेमा सजग छौं । त्यसैले सबै ग्राहकलाई फोन गरेर नै समस्या बारे जानकारी दिएका छौं । यदि कसैले जानकारी पाउनु भएको छैन भने पनि विभिन्न माध्यमबाट जानकारी पुर्याउने प्रयास गरिरहेका छौं’, कम्पनीका टेक्नीकल मेनेजर प्रबेश पौडेलले भने ।
पौडेलका अनुसार टोयोटा जापानले सन् २००६ देखि १० सम्मका यारिस, कोरोला र इको कारमा समस्या देखिएको र ती गाडीमा रहेका एयरव्याग परिवर्तन गर्न भनेसँगै नेपालमा पनि परिवर्तन गर्न लागिएको हो ।
हामी गाडीमा यात्रा गर्ने यात्रुको सुरक्षामा कति सम्बेदनशील छौं भन्ने पनि हो भन्दै पौडेल भन्छन्, ‘सर्भिसको दौरानमा हुने खर्च गाडी मालिकले तिर्नु पर्दैन, सबै खर्च कम्पनीले गरिदिन्छ । सबै गाडी आएर सर्भिस लिउन् भन्ने हामी चाहन्छौं ।’
यति पुराना गाडीमा आएको समस्या समाधान कम्पनीले अग्रसरता देखाएको नेपालमा नै पहिलो पटक हो ।

