टोयोटा रस किन्नेलाई तीन लाख ५० हजार छुट

काठमाडौं । टोयोटाका लागि नेपालको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले आफ्नो चर्चित एसयूभी रसको खरिदमा तीन लाख ५० हजार रुपैयाँ छुट दिने भएको छ । कम्पनीले हिजो सोमबारबाट प्रदान गर्दै आएको यो अफर आगामी दशैंसम्म मात्रै उपलब्ध हुने जनाएको छ । 

कम्पनीले सरको मिड एमटी मोडलमा यो योजना लागु गरेको जनाएको छ । मिड एमटी रसको मूल्य ७३ लाख ५० हजार रुपैयाँ रहेको र यसमा ३ लाख ५० हजार रुपैयाँ छुट दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले गत वर्षको साउन महिनाबाट नेपाली बजारमा बिक्री वितरण सुरु गरेको रसले छोटो समयमा राम्रो बजार पाईरहको कम्पनीले जानकारी दिएको छ ।

रस एसयूभीमा फ्रन्ट फग ल्याम्पसहितको अटो कन्ट्रोल हेडलाइट, फ्रन्टमा आकर्षक ग्रिल, १७ इन्चको अलोय ह्वील, एबीएस, एयरब्याग, हिल स्टार्ट असिस्ट कन्ट्रोल, ट्याक्सन कन्ट्रोलसहितको भेहिकल स्टेबीलीटी कन्ट्रोल सिस्टम जस्ता आधुनिक विशेषता रहेका छन् ।   

यसमा रहेको १४९६ सीसी फोर सिलिन्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा १०४ पीएस पावर र ४२०० आरपीएममा १३६ एनएम टर्क उत्पादन गर्छ । यसमा २२० एमएमको ग्राउण्ड क्लेयरेन्स दिइएको छ । जसले रसलाई नेपालको सडक सुहाउँदो बनाएको कम्पनीले दाबी गर्दै आएको छ ।

अटोम्याटीक र म्यानुअल दुवै ट्रान्समिसनमा उपलब्ध रस ४ भेरियन्टमा उपलब्ध रहेको छ । 


Back_to_top