काठमाडौं । विश्वकै ठूलो कार निर्माता टोयोटाको कार उत्पादन र बिक्रीमा निरन्तर ओरालो लाग्दै गएको छ । खासगरी टोयोटाको उत्पादन र बिक्री घट्नुमा मुख्य दुई कारण बाहिर आएको हो ।
कम्पनीका अनुसार जापानको दक्षिणी टापु क्युशुमा गएको भूकम्पपछि उत्पादन स्थगित हुँदा समग्र उत्पादनमा समस्या देखिएको छ । साथै, विश्वब्यापी बढ्दो इन्धनको कारण पनि बैकल्पिक ऊर्जाबाट चल्ने साधनमा ग्राहकहरु लागेका कारण बिक्री कमजोर बन्दै गएको हो ।
टोयोटाको विश्वव्यापी कार बिक्री अघिल्लो वर्षको अगस्टको तुलनामा २०२६ अगस्टमा ६.४ प्रतिशतले घटेको छ । यस अगस्टमा कम्पनीले ७ लाख ९० हजार ७४३ युनिट कार बिक्री गरेको हो । बिक्री मात्रै हाइन टोयोटाको अगस्टमा उत्पादन पनि ५.९ प्रतिशत घटेर ७ लाख ८६० युनिटमा सीमित भएको छ ।
चीनमा टोयोटाको बिक्रीमा २२.८ प्रतिशतले गिरावट आएको छ । चीनमा लगातार सातौं महिनामा पनि बिक्री ओरालो लागेको हो । चिनियाँ उपभोक्ताको रोजाइमा स्थानिय ब्राण्डका कार पर्न थालेसँगै युरोपियन जापानी ब्राण्डलाई समस्या हुन थालेको देखिन्छ ।
टोयोटाको सबैभन्दा ठूलो बजार अमेरिकामा बिक्री ४.४ प्रतिशत घटेको छ भने मध्यपूर्वमा ३७.५ प्रतिशतको ठूलो गिरावट आएको छ । यसको विपरीत जापानमा भने बिक्री ९.१ प्रतिशतले बढेको छ ।
उत्पादनतर्फ चीनमा ११.३ प्रतिशत र अमेरिकामा ६.६ प्रतिशतले गिरावट आएको छ । जापानमा उत्पादन १.७ प्रतिशत घटेको छ ।
टोयोटाको यस तथ्यांकमा उसको लक्जरी ब्रान्ड लेक्ससको बिक्री तथा उत्पादन पनि समावेश छ ।

