काठमाडौं । विश्वकै ठूलो कार निर्माता टोयोटाले इलेक्ट्रीक भेहिकलको लागि चाहिने ब्याट्रीमा नयाँ खोज पुरा भएको दावी गरेको छ । कम्पनीले एक महिना अघि मात्रै टोयोटाले नयाँ ब्याट्री टेक्नोलोजीमा काम गरिरहेको र नयाँ गाडी त्यही ब्याट्रीमा आउने बताएको थियो ।
द गार्डियनका अनुसार टोयोटाले सिंगल चार्जमा १ हजार १९९ किलोमिटर (७४५ माइल) रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्री तयार पारेको हो । उसले रिपोर्टमा टोयोटाको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर अफ कार्वन न्यूट्रीलीटीका प्रेसिडेन्ट किजी कइटाको भनाई समावेस गरेको छ ।
जापानी कार निर्माताले जुलाई ४ तारिखमा सोलिड स्टेट र लिक्विडमा आधारित दुबै ब्याट्री उत्पादनको लागि तयार भएको बताएको थियो ।
‘गाडी अनुसार जुन फिट हुन्छ, त्यही ब्याट्री प्रयोग हुन्छ । विशेषगरी वेट, साइज र मूल्यले कुन ब्याट्री दिने भन्ने एकिन हुन्छ । अहिले प्रयोग भएका लिथियम ब्याट्री निकै ठूला, भारी र महंगा छन् । त्यसकै विकल्पमा हामीले काम गरेका हौं’, प्रसिडेन्ट कइटाले भने ।
सोलिड स्टेट ब्याट्रीले ईभी उत्पादनलाई नै अर्को लेभलमा लाने उनको दावी छ । यी ब्याट्री निकै सुरक्षीत र वातावरण मैत्री रहने कइटाको दावी थियो ।

टोयोटा बाहेकका सोलिड पावर, क्वान्टमस्केप, स्टोरडर्ट लगायतका कम्पनीले सोलिड स्टेट ब्याट्रीमा काम गरिरहेका थिए । तर, यी कम्पनीले बनाएका ब्याट्री अहिलेसम्म कुनै पनि ईभीमा प्रयोग हुन सकेको छैन ।
टोयोटाका अनुसार यो नयाँ टेक्नोलोजीमा आधारित ब्याट्री सबै किसिमका ईभी, हाइब्रिड, प्लगइन हाइब्रिड र हाइड्रोजन फ्यूलसेल भेहिकलमा प्रयोग गर्न सकिने छ । मूल्यमा पनि लिथियमभन्दा सस्तो हुने उक्त ब्याट्री उत्पादन पनि निकै सहज रहेको टोयोटाको भनाई छ ।
सन् २०२६ बाट टोयोटाका सबै न्यू इनर्जी भेहिकलमा यही ब्याट्री प्रयोग हुने कम्पनीको भनाई छ । सन् २०२८ पछि आउने टोयोटाका गाडीमा रहने सोलिड स्टेट ब्याट्रीको रेन्ज थप बढेर १ हजार ४४८ किलोमिटर पुग्ने छ ।

