ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्ने, ३० हजार बनाउन सरोकारवालको सुझाव

काठमाडौं । विगत धेरै वर्षदेखि ट्राफिक नियम मिच्नेलाई गर्दै आएको जरिवाना रकम बढेको छैन । यस पटक भने प्रदेश सरकारले ट्राफिक जरिवाना हेरफेर गर्ने तयारी थालेको हो ।

यसअघि प्रदेश सरकारको मातहतमा धेरै विषय नआएको कारण ट्राफिक जरिवाना परिवर्तन गरिएको थिएन । यस वर्षबाट धेरै विषय प्रदेश मातहतमा आएको कारण ट्राफिक नियम उल्लंघन गर्दा लाग्ने जरिवाना बढाउन लागिएको हो ।

प्रदेश र केन्द्र सरकार बीचको हानथापले यसअघि परिवर्तन हुन नसकेको जरिवाना रकम अब बढाउने तयारी भइरहेको यातायाता कार्यालय हेटौडाले जनाएको छ ।

‘बल्ल प्रदेश माताहतमा धेरै विषय आएका छन् । यस वर्षको बजेटबाट हामी जरिवाना बढाउने तयारीमा छौं । यति नै बढ्छ भन्ने विषय एकिन नभएपनि यस पटकबाट जरिवाना रकम बढ्छ’, यातायात कार्यालय हेटौडाका प्रमुख भक्तबहादुर भण्डारीले मेरोअटोसँग भने ।

लामो समयदेखि जरिवाना रकम नबढ्दा ट्राफिक नियम मिच्ने बढ्दै गएको उपत्यका ट्राफिक कार्यालयको भनाई छ । चालकहरुले अहिलेको जरिवानालाई कुनै ठूलो नसोच्दा दिनहुँ ट्राफिक नियम उल्लंघनका घटना बढीरहेको कार्यालयको भनाई छ ।

‘अहिलेको जरिवाना रकमलाई चालकले गम्भीर रुपमा लिएका छैनन् । जरिवाना पनि धेरै तिर्नु नपर्ने र सजिलै उन्मुक्ति पाइने भएकाले ट्राफिक नियम तोड्दा गर्व गर्ने चालक पनि भेटिन्छन्’, उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक संजिव शर्मा दासले भने ।

चालकलाई हल्का डरमा राख्ने हो भने अहिलेको जरिवानालाई दश गुणाले वृद्धि गर्नु पर्ने प्रवक्ता शर्माको भनाई छ । अहिले सरकारले ५०० देखि १ हजार ५०० रुपैयाँसम्म जरिवाना लगाउँदै आएको छ । भाडा धेरै लिएको घटनामा मात्रै १ देखि ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

धेरै सरोकारवालाले जस्तो सुकै नियम उल्लंघन गरेपनि कम्तीमा ५ हजार र बढीमा ३० हजारसम्म जरिवाना तोक्न सकेमात्रै सडक नियम पालना गर्नेहरु बढ्ने बताउँदै आएका छन् ।

सडक सुरक्षामा काम गर्दै आएका धेरै संघ संस्थाहरुले कडाईको साथ ट्राफिक नियम पालना गर्न गराउन पनि जरिवाना बढाउनु पर्ने सुझाव दिएका छन् ।


Back_to_top