नेपाल आयो ‘स्मल ह्याचब्याक’ इभी, यस्तो छ मूल्य (फोटो-फिचरसहित)

काठमाडौं । महंगो मूल्यको मात्रै इलेक्ट्रीक कार उपलब्ध रहेको बजारमा पायोनियर वर्ल्ड वाइड प्रालिले सानो इलेक्ट्रीक ह्याचव्याक कार बजारमा ल्याएको छ । कम्पनीले चिनियाँ ब्राण्ड ‘हेनरी’ले उत्पादन गरेको ‘टाइगर मोडल बी’ इलेक्ट्रीक कार नेपाल ल्याएको हो ।

सहरी क्षेत्रको लागि उपयुक्त यो कारको लम्बाई ३३८० एमएम, चौडाई १४९९ एमएम र उचाई १६१० एमएम रहेको छ । उचाई र पछाडिको डिजाइनको आधारमा यसलाई ‘टलह्याच’ पनि भन्न सकिन्छ । कम्पनीले यसमा साइज अनुसार निकै लामो २४४० एमएमको ह्वीलवेस दिएको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो इभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ ।

विद्युतीय गाडी भएको कारण यसमा धेरै किसिमका आधुनिक फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ ।

यसको फ्रन्ट फेसिका इभी डिजाइनबाट नै प्रेरित रहेर तयार गरिएको छ । साथै, लुकिङ ग्लासमै दिइएको टर्न इन्डिकेटर लाइट, बडी कलर डोर ह्याण्डल, चालक सहित ४ जनाको लागि आरामदायी सिट, म्यानुयल एसी, थ्रि प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर दिइएको छ ।

पायोनियर वर्ल्ड वाइड प्रालिले यसको मूल्य २२ लाख निर्धारण गरेर बुकिङ खुल्ला गरेको छ । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटरको बारेन्टी प्रदान गरेको छ ।


Back_to_top