काठमाडौं । टीभीएसले तीन नयाँ मोडलका दुई पाँग्रे सवारीसधान नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक इलेक्ट्रीक स्कुटरसहित दुई मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएस आइक्यूव, आरटीआर १६० फोर भी स्पेशल एडिशन र रोनीन सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले पहिलो चरणमा आरटीआर १६० फोर भी स्पेशल एडिशन सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस्तै केहि सयम पश्चात रोनिन र आइक्यूव सार्वजनिक गर्ने तयारीमा जगदम्वा मोटर्स रहेको कम्पनी स्रोतले बताएको छ ।
कम्पनीले टीभीएस आइक्यूवको परिक्षण सफलता पूर्वक सम्पन्न गरिसकेको छ भने रोनीन मोटरसाइकलको नेपालभर विभिन्न स्थानमा परिक्षण गरिरहेको छ ।
रोनीन
टीभीएस रोनीनमा २२५।९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९।९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।
आइक्यूव
टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको ब्याट्री रहेको छ । टीभीएसको दावी मान्ने हो भने एसटी भेरियन्टले इको मोडमा १४५ किलोमिटरसम्म रेन्ज दिन्छ ।
यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिधन्टा रहेको छ ।
आरटीआर १६० फोर भी स्पशेल एडिशन
यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, फोर भी इन्जिन रहेको छ । यो इन्जिनले १७.३० बीएच पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले १६० फोर भीमा राइडिङ दिएको छ । यसमा अर्वन, स्पोर्टस र रेन मोड दिइएको छ । यसको टप स्पीड ११४ किलोमिटर रहेको छ । त्यस्तै यसमा कम्पनीले एक्जष्टलाई परिमार्जन गरेको छ भने, यसको साउन्ड अझै उत्कृष्ट भएको कम्पनीले जनाएको छ ।
कम्पनीले स्पेशल एडिशनमा कालो र रातो कलरको अलोय ह्वील दिएको छ । त्यस्तै, यसको सिट डवल टोन कलरको रहेको छ । कम्पनीले पहिलो पटक १६० सीसी मोटरसाइकलमा एडजष्टएवल ब्रेक तथा क्लच लिभर दिएको छ ।

