काठमाडौं । टीभीएस मोटर्स इन्डियाले सन् २०१९ मा कुनैपनि नयाँ मोडल बजारमा ल्याएन । कम्पनीले सन् २०२० को सुरुवात मै नयाँ इलेक्ट्रीक स्कुटर ल्याएर आगामी एकवर्ष कम्पनीको लागि नयाँ मोडल ल्याउने वर्षको संकेत गरेको छ । कम्पनीले यो आर्थिक वर्ष २०२०÷२१ भित्रमा करिब ४ नयाँ मोडल ल्याउने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
कम्पनीले यसवर्ष ज्यापलिन क्रुजर मोटरसाइकल ल्याउने छ । कम्पनीले ल्याउने यो मोडल आफ्नो पहिलो क्रुजर मोटरसाइकल हो । त्यसैगरी कम्पनीले २०२१ को पहिलो क्वाटरसम्ममा अपाचे आरआर ३१० को नेकेट मोडल बजारमा ल्याउने छ ।
कम्पनीले केही समयअघि बीएस ६ मापदण्डको इन्जिनमा ल्याएको आरआर ३१० अब भने नेकेट भर्सनमा आउने भएको हो ।
कम्पनीले ल्याउने अर्को मोटरसाइकल एडभेञ्चर हुने अनुमान गरिएको छ । नयाँ एडभेञ्चर मोटरसाइकल बीएमडब्ल्यूसँगको सहकार्यमा आउने छ । यो मोटरसाइकलमा ५०० सीसीको दुई सिलिण्डर इन्जिन दिने तयारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
त्यस्तै कम्पनीले आफ्नो चर्चित स्कुटर एनटर्कलाई २१० सीसी इन्जिनको साथ बजारमा ल्याउने अनुमान गरिएको छ । यस स्कुटरमा २१२ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन प्रदान गरिने छ ।


