टीभीएस बन्यो विश्वकै तेस्रो ठूलो मोटरसाइकल कम्पनी

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी टीभीएसले जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहालाई पछि पार्दै तेस्रो ठूलो मोटरसाइकल उत्पादक बनेको छ ।

मार्केट क्यापिटलाइजेशनको आधारमा यामाहालाई टीभीएसले पछाडि पारेको हो । १७ महिना अघिसम्म यामाहाको बजार भ्यालु टीभीएसको भन्दा दोब्बर बढी थियो । अहिले भने टीभीएसले यामाहालाई पछि पारेको हो ।

चेन्नाई वेस मोटरसाइकल उत्पादक कम्पनी टीभीएस मोटर्सको बजार पुँजीकरण पछिल्लो ६ महिनामा ३७ प्रतिशतले बढेर ९.२ बिलियन पुगेको छ ।

हालको अवस्थामा यामाहाको बजार पुँजीकरण ८.८ बिलियन डलर मात्रै छ । ब्लुमवर्गले प्रकाशन गरेको डाटाका अनुसार दुइपाँग्रे अटाेमाेवाइल क्षेत्रमा विश्वका ५ कम्पनीहरुमा ४ वटा भारतीय कम्पनी परेका छन् ।

विश्वकै ठूलो मार्केट क्याप रहेको कम्पनी बजाज अटो हो । उसको पुँजीकरण १९ बिलियन डलर छ ।

इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा पकड जमाएको टीभीएसले केही समययता हरेक सेग्मेन्टमा आफुलाई बलियो बनाउँदै लगेको छ । आर्थिक वर्ष २०१८ देखि अहिलेसम्म कम्पनीले स्कुटर सेग्मेन्टमा ७ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

टीभीएस मोटर्स कम्पनीले आव २०२३ देखि २०२६ सम्ममा समग्र १५ प्रतिशतको वृद्धि हासिल गर्ने जेफरी नामक फाइनान्सीयल सर्भिस कम्पनीको रिपोर्टमा दावी गरिएको छ ।


Back_to_top