टीभीएस RR-310 vs यामाहा YZF-R-3, कुन ठिक ?

काठमाडौं । युवा पुस्ताको रोजाईमा पर्ने पावरफुल बाइक सेग्मेन्टमा थुप्रै ब्रान्डको बीचमा प्रतिस्पर्धा हुँदै आएको छ । यो सेगमेन्टमा यामाहा, बजाज, टीभीएस, बिएमडब्ल्युलगायत ब्रान्डले आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएका छन् ।

यसरी नेपाली बजारमा बिक्री वितरण हुँदै आएका मोटरसाइकल मध्य टीभीएस अपाची आरआर–३१० र यामाहा वाइजेडएफ आर–थ्रीको तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

यामाहाको बाइक मोरङ्ग अटोवर्कस् र टीभीएसको बाइक जगदम्बा मोर्टसले नेपाली बजारमा बिक्री गर्दै आएका छन् ।

डायमेन्सन

टीभीएस आरआर–३१०को लम्बाई २००१ एमएम, चौडाई ७८६ एमएम र उचाई ११३५ एमएम रहेको छ । यसमा १ हजार ३६५ एमएमको ह्वीलवेश दिइएको छ भने, १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ८१० एमएमको सिट हाइट रहेको छ । ११ लिटर क्षमताको फ्युल ट्यांकी रहेको बाइकको कुल तौल १६९.५ केजी रहेको छ ।

त्यस्तै यामाहा आर–थ्रीको लम्बाई २०९०, चौडाई ७२० र उचाई ११३५ एमएम रहेको छ । यसको ह्वीलवेस १३८० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १६० एमएम र ७८० एमएमको सिट हाइट दिइएको छ । यसमा १४ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ । यसको  तौल १७३ केजी रहेको छ ।

इन्जिन

वाइजेडएफ आर–थ्रीमा ३२१ सीसी क्षमताको इनलाइन २ सिलिन्डर फोर स्ट्रोक ८ भल्भ डिओएचसी इन्जिन लगाइएको छ । यसले, अधिकतम ४२ पिएस पावरका साथै २९.६ एनएम टर्क उत्पादन गर्छ । 

यस्तै, टीभीएस अपाचे आरआर–३१० मा ३१२ सीसी सिङ्गल सिलिन्डर, फोर–स्ट्रोक, फोर–भल्भ, लिक्विड कुल्ड इन्जिनले अधिकतम ३४ पीएस पावर उत्पादन गर्छ भने २७.३ एनएम–टर्क उत्पादन गर्छ । दुबैमा समान ६ स्पिड ट्रान्समिसन दिइएको छ । दुबैको फ्रन्ट र रियमार डिस्क ब्रेक दिइएको छ ।

टप स्पीड

यामाहा वाइजेडएफ आर–थ्री स्पीडको मामलामा पनि निकै अगाडि रहेको छ । प्रतिघन्टा १८८ किलोमिटरको रफ्तारमा यसलाई गुडाउन सकिन्छ ।

त्यस्तै टीभीएस अपाचे आरआर–३१० को टप स्पीड क्षमता १ सय ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सस्पेन्सन

आरआर–३१० मा ट्रेलिस फ्रेम दिइएको छ भने, फन्टमा इन्टभर्टेड काट्रिडेज टेलिस्कोपिक फर्क लगाइएको छ । यस्तै वाइजेडएफ आर–थ्रीमा डायमन्ड चेसिस लगाइएको छ भने, फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्विंगआर्म लगाइएको छ । दुबैमा १७ इन्चको आलोय ह्वील दिइएको छ ।

विशेषता

दुबै मोटरसाइकलमा  डबल च्यानल एबीएसको बिशेषता दिइएको छ । डिजीटल स्पीडोमिटर, डिजीटल ट्रिपमिटर, डिजीटल फ्युल इन्डीकेटर, सेट अप सिटलगायतका विभिन्न विशेषता रहेका छन् ।

मूल्य

नेपाली बजारमा यमाहा वाइजेडएफ आर–थ्रीको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ भने, टीभीएस टिभिएस अपाची आरआर–३१०को मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।

निस्कर्ष

यामाहा जापानीज ब्रान्ड हो भने टिभीएस भारतीय ब्रान्ड हो । नेपाली बजारमा यी दुबै कम्पनीका बाइकको बिक्री हरेक वर्ष बढ्दै गएको छ । यी दुबै कम्पनी मोटरसाईकल तथा स्कुटर उत्पादनमा विशेषज्ञ मानिन्छन् ।

लगभग उस्तै इन्जिन क्षमता रहेका यी दुई बाइकमा धेरै कुरा समान रहेका छन् । पावरमा यामाहा निकै अगाडि रहेको छ भने, मूल्यमा टीभीएसको बाइक करिब १ लाख ४० हजार रुपैयाँले सस्तो रहेको छ ।


Back_to_top