काठमाडाैं । आजकल बाटाेमा गुड्ने गाडीहरूमा विभिन्न प्रविधिका हेडलाईटहरू प्रयोगमा आएका छन् । हेलोजीन, एचआईडी, एलईडी र लेजर लाइट हेडल्याम्पमा प्रयोग हुने लाइटका प्रकारहरू हुन् । यी लाइटहरूको प्रकाशकाे मापन मुख्यतया तीन तत्वले निर्धारण गर्छ । ति केल्भीन, ल्यूमनस र वाट हुन्, जसले विभिन्न प्रकारका बल्वहरू मध्य कुन बढी उपयुक्त भनी निर्धारण गर्छ ।
केल्भीनलाई छोटोमा ‘K’ भनेर लेखिएको हुन्छ जस्तो ३५००K, ५०००K, ६०००K अादि हुन्छ । यसले लाइटको कलर टेम्प्रेचरको मापन गर्छ । पहेँलो देखिने लाइटको K भ्यालू ३५०० जति हुन्छ भने सेतो चम्किलो देखिने लाइटको कलर टेम्प्रेचर ५०००-६००० K को आसपास हुन्छ । त्यस्तै, ल्यूमनसले लाइटको ब्राइटनेस जनाउँछ । जति धेरै ल्यूमनस त्यति नै धेरै बल्व ब्राइट हुन्छ । र, अन्त्यमा वाटले बल्वको पावर कम्जप्सनको बारेमा जनाउँछ । तर, कुनै पनि वल्वको वाट धेरै हुँदैमा ब्राईट धेरै दिन्छ भन्ने हुँदैन ।
हेलोजिन वल्व
यो सबैभन्दा धेरै प्रयोगमा आउने वल्व हो । विगतमा सबै गाडी र बाइकमा हेलोजिन लाइट प्रयोग हुने गथ्र्यो र यसको कलर पहेलो रंगको नर्मलखालको हुने गर्छ । यो वल्वमा हेलोजिन ग्यास र बीचमा फिलामेन्ट हुन्छ, जसमा इलेक्ट्रीसीटी हुँदा फिलामेन्ट तातेर प्रकाश निक्लन्छ । यसकाे प्रकाश रिफ्लेक्टर वा प्रोजेक्टरको सहायताले अगाडि फालिन्छ । यो बल्व सबैभन्दा सस्तो र फेर्न एकदम सजिलो छ । यो बल्व वर्षातकाे मौसममा उपयुक्त हुन्छ ।
एचआईडी जेनन् वल्व
हाई इन्टेन्सीटी डिस्चार्ज लाइटलाई जनरल लाइट पनि भनिन्छ । यो वल्व बाहिरबाट हेर्दा हेलोजिनजस्तै देखिए पनि भित्री भागमा केही फरक हुन्छ । यो एक इलेक्ट्रीकल ग्यास डिस्चार्ज लाइट हो, यसमा फिलामेन्टको सट्टा ग्याँसको ट्यूव हुन्छ, जसबाट प्रकाश निस्कन्छ । यसको कलर टेम्प्रेचर केल्भीन अलि बढी हुन्छ । यसको लाइट पहेंलो नभई सेतोखालको हुन्छ । यसको लाइट चम्किलो हुन्छ र हेलोजिनको दाँजोमा कम पावर कन्जुम गर्ने र लाइफ पनि बढी हुन्छ । यसको लाइट फैलने भएकोले यसको प्रयोग प्रोजेक्टर हेडल्याम्पमा धेरै गरिन्छ ।
एलईडी वल्व
यो एक आधुनिक प्रविधिको बल्व हो, जसले पावरको कन्जप्सन एकदमै थोरै गर्छ । यो सानो-ठूलो सबै साइजमा बजारमा उपलब्ध छ । यसको प्रकाश एकदमै ब्राइट हुनुकासाथै लाइफसमेत धेरै हुनेगर्छ । यदि टुटफूट नभएमा यो गाडीको लाइफभरि फेर्नु पर्दैन । यो अन्य बल्वको दाँजोमा अलि महंगो रहेको छ । कतिपय सहरमा यसलाई निषेध पनि गरिएको छ, किनकी यसको ब्राइटनेसले विपरीतबाट आएको सवारी चालकले बाटो नदेख्ने हुनसक्छ ।
लेजर लाइट
यो एक अत्याधुनिक लाइट प्रविधि हो, यसले एकदमै थोरै पावर कन्जुम गर्छ । यो एकदमै सानो ठाउँमा अटाउनुकासाथै यसले एलईडीभन्दा आधा पावर कन्जक्सन गर्ने जनाइएको छ । भविष्यका इलेक्ट्रीक कारहरूमा लेजर हेडलाइटको प्रयोग हुनेछ । यसको प्रयोग केही अटो कम्पनीले आफ्ना केही मोडलमा सुरु गरेका छन् । सुरुमा बीएमडब्लू आई-८ मा यसको प्रयोग भएको थियो । गएको वर्ष अडीले पनि आफ्नो मोडल आर-८ एलएमएक्समा लेजर लाइट प्रयोग गर्ने जनाएको थियो ।

