काठमाडौं । राजधानी काठमाडौं सडकका फुटपाथहरु बिजुली, केवल, टेलिफोन लगायतका तारले पुरिन थालेका छन् ।
यता पर्यटन वर्ष २०२० मनाउने कुरा भइरहदा समेत काठमाडौंका फुटपाथहरुमा बग्रेल्ती झुन्डिएका बिजुलीको तार हालसम्म महानगरपालिकाले व्यवस्थित गर्ने तर्फ ध्यान दिएको छैन ।
विगत केही समयमा तारहरुलाई पोलमै गोलो बनाएर राख्ने गरेपनि पछिल्लो समय तारको असरल्लै देखिन थालेको हो । काटिएका तारहरु जहाँको त्यही त्यतीकै छाडिँदा सहरका बाटाहरु कुरुप देखिएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले भने महानगरले गुनासो अनुसार मात्र तार काट्ने गरेको बताए । उनले हाल सडकमा लथालिङ्ग अवथामा रहेका तारहरु विद्युत प्राधिकरणले आरोप लगाए ।
‘हामीले जथाभावी तार हटाउने काम गर्दै छौँ, एकै चोटी व्यवस्थापन हुन गारो छ, काटेपछि व्यवस्थीत भइरहेको छ । अरु विद्युत प्राधिकरणले काटेको हो,’ न्यौपानेले मेरोअटोसँग भने ।
यस्तै नेपाल विद्युत प्राधिकरणले भने हालसम्म आफ्नो हकमा कुनै तार नकाटिएको जानकारी दिएको छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरहर न्यौपानेले हालसम्म कुनै तार नकाटिएको बताए ।
‘हालसम्म हामीले कुनै तार काटेका छैनौँ तर, अब काट्ने योजनामा छौं,’ न्यौपानेले मेरोअटोसँग भने । पछिललो समय न्यूप्पाला, अनामनगर, घटेकुलो लगायतका सडकमा जथाभावी रुपमा तार काटिएर छोडेको पाइएको हो । उक्त तारका कारण बटुवा लड्ने तथा सवारी दुर्घटना समेत हुने गरेको छ ।
फुटवाथमा हिड्नेहरु कति खेर अल्झीने हो, करेन्ट पो लाग्ने हो की भन्दै डराउदै हिड्नु पर्ने अवस्था सृजना भएको छ । फुटपाथमै हिड्ने सर्वसाधरण समेत लथालिङ्ग तारका कारण सडकमा ओर्लेर हिड्न बाध्य रहेका छन् । यसले दुर्घनटा समेत निम्त्याउने ट्राफिक प्रहरीको भनाई छ ।

