गर्मी मौसममा बाहिर खुल्ला रुपमा पार्क गरिएको गाडी भित्र पस्न ग्राह्रै पर्छ । झट्ट भित्र पस्दा तातो ‘ओभन’ भित्रै पसे झैं लाग्छ । झन् भारत, जहाँ तापक्रम ४५ डिग्रीभन्दा माथि उक्लन्छ, त गाडी चालकहरुको दुर्दशाको के कुरा गर्नु ।
फेरी मानिस त्यस्तो प्रजाति हो जो आफ्नो जिवन सहज पार्न केही न केही खोज्छ नै । तापक्रम बढेसँगै मानिसहरु त्यसबाट बच्न विभिन्न उपाए लगाइहाल्छन् । तर, भारतको गुजरातको अहमदाबादकी एक महिलाले अनौठो उपाय लगाएकी छन् । उनले बाहिर पार्क गरेको तातो गाडी भित्र पस्न साह्रै सकस भएपछि आफ्नो कार पुरै गोबरले लिपेकी छन् । अहिले सामाजिक सञ्जालमा यो फोटो निकै ‘भाइरल’ भइरहेको छ ।
फेसबुक प्रयोगकर्ता रुपेश दास, जसले फेसबुकमा यो फोटो सेयर गरेर लेखेका छन्, ‘मैले अहिलेसम्म देखेका मध्ये गोबरको सबैभन्दा उत्कृष्ट उपयोग’ उनी थप्छन्, ‘४५ डिग्री तापक्रमसँग जुध्न र आफ्नो कारलाई अत्यन्तै तातो हुनबाट जोगाउन श्रीमती सेजल साले आफ्नो गाडी गोबरले लिपेकी छन्’ ।
फोटोमा देखिए झैं ती महिलाको सेडान कार पुरै गोबरले लिपिएको छ । फोटो हेरेर धेरै मानिसहरु यस्तै गर्न उत्साहित भए पनि केहीले भने गोबरको गन्धका बीच गाडी कसरी लिएर हिँड्नु भनेर शंका ब्यक्त गरेका छन् । केहीले कति तह गोबरले लिपेपछि गाडीमा चिस्यान आउने हो भनेर प्रश्न गरेका छन् ।
परम्परागत रुपमा भारत र नेपालमा पनि घरका भुँई र भित्ताहरुमा गोबरले लिप्ने चलन छ । यसले घरको संरचना मजबुत बनाउनुका साथै जोडोमा न्यानो र गर्मीमा चिस्यान प्रदान गर्छ भन्ने विश्वास छ । साथै, गोबरले लामखुट्टे लगायत किरा फट्याङग्रा पनि भगाउने विश्वास छ ।
पछिल्लो समय हिन्दू धर्मको राजनीति गर्नेले पनि गाईको गहुँत र गोबर निकै गुणकारी रहेको बताउने गरेका छन् । यसबाट भुँई सफा गर्ने रसायन बनाउनुका साथै मोबाइल फोनमा प्रयोग गर्नाले विकिरण रोक्ने दाबी समेत गर्ने गरेका छन् ।
तर, यी दाबीहरुको कुनै विश्वासिलो बैज्ञानिक तथ्य भने आफुले फेला पारिनसकेको भारतीय मिडिया इन्डियन एक्सप्रेसले जनाएको छ ।

