२०८० को पहिलो क्वाटरमा नेपाल आउने ४ विद्युतीय कार

काठमाडौं । विद्युतीय कार नेपालमा सर्वाधिक चर्चामा रहेको सवारीसाधन हो । विशेषत भारतीय सवारी उत्पादकको वर्चश्व रहेको हाम्रो जस्तो देशमा विद्युतीय साधनको माध्यमबाट चिनियाँ उत्पादनको आयात पनि बढ्दै गएको छ ।

सहज आवतजावत, भाषागत सहजता र समान भौगोलिक अवस्थाको कारण भारतमा बनेका कार नेपालमा धेरै रुचाइन्छ । यस्तोमा विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले नयाँ मोडलका ईभी नेपाल ल्याउने तयारी गरेका छन् । टाटा, बीवाइडी, टोयोटा लगायत ब्रान्डले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् ।

टाटा टियागो ईभी

टाटा टियागो ईभी रेगुलर आईसी इन्जिन भएको टियागोमा नै जीपट्रोन प्रविधि प्रयोग गरेर तयार पारिएको मोडल हो । कम्पनीले ईभीमा विशेष कलर र अगाडिको भागमा ईभी स्टाइलको प्रयोग गर्दै आएको छ ।

टाटाले टियागोलाई २ ब्याट्री अप्सनमा ल्याएको छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री दिएको छ । टियागो ह्याचव्याकमा टाटाले डीसी फास्ट चार्जिङ पोर्ट समेत उपलब्ध गराएको छ । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्नेछ ।

कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाट आवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ । टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ ।

टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्यान्डर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ । यो कार चाँडै नेपाल आउने सूचीमा रहेको छ ।

सिट्रोन सिथ्री ईभी

फ्रेन्च ब्राण्ड सिट्रोनले उत्पादन गरेको सिथ्रीको इलेक्ट्रीक भर्सन नेपाली बजारमा सँग्रिला मोटर्सले आगामी महिनाहरुमा ल्याउने भएको छ । सिथ्री ईभी साना एसयूभी चाहनेको रोजाईमा पर्ने कार रहेको छ । यसको लाइभ र फिल गरी दुईवटा भेरियन्टमा उपलब्ध हुने बताइएको छ ।

सिट्रोनको ई-सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक दिइएको छ । फ्रन्टह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।

सिट्रोनको ई(सीथ्रीको मोटरले यो ईभीलाई जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सकिन्छ । यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ । सिट्रोनको ई(सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड रहेको छ ।

विवाइडी डल्फिन

चिनियाँ इलेक्ट्रीक भेहिकल तथा व्याट्री उत्पादक कम्पनी विवाइडीले उत्पादन गरेको नयाँ इलेक्ट्रीक प्रिमियम ह्याचव्याक कार डल्फिन नेपाल आउने भएको छ । यो ईभीलाई विवाइडीको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले नेपाल ल्याउने तयारी गरेको हो ।

विवाइडीको नयाँ ३।० इ प्लाटफर्ममा निर्माण भएको ‘एक्स ड्रीम कन्सेप्ट’मा तयार भएको यो कारमा विवाइडीको व्लेड व्याट्री दिइएको छ । विवाइडीको मोर्डन डिजाइन अप्रोचमा आधारित यो नयाँ कार निकै आकर्षक देखिएको छ ।

दुई भिन्न व्याट्री अप्सन यो कारको अर्को विशेषता हो । ३०.७ किलोवाट आवरको सानो र ४४.९ किलोवाट आवरको ठूलो व्लेड व्याट्री प्याक यसमा प्रयोग गरिएको छ । सानो साइजको व्याट्रीले फुल चार्जमा ३०१ र ठूलो साइजको व्याट्रीले ४०५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

यस कारमा कम्पनीले ७० किलोवाटको मोटर दिएको छ । जसले ९४ हर्सपावर तथा १८० एनएम टर्क उत्पादन गर्छ । यो कारलाई जम्मा ७.८ सेकेन्डमा १०० किलोमिटरको स्पीडमा दौडाउन सकिन्छ । कारको टप स्पीड भने १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा रहेको व्याट्रीलाई फास्ट चार्जरबाट चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिसतसम्म चार्ज गर्न सकिन्छ ।

साइमेक्स इंकले यो ईभी चाँडैनै नेपाली बजारमा विक्री वितरणका सुरु गर्न लागेको हो ।

एमजी जेडएस ईभी

एमजीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्सले जेडएस ईभीको स्ट्याण्डर्ड रेन्ज मोडलको दुई भेरियन्ट नेपाल ल्याउने भएको छ । कम्पनीले जेडएस ईभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ र डिलक्स भेरियन्टको ५२ लाख ४९ हजार रुपैयाँ तोकेर गाडी ल्याउने घोषणा गरेको थियो।

कम्पनीले यी गाडी मे महिनाको पहिलो सातासम्म डेलिभरी दिने बताएको छ । स्ट्याण्डर्ड रेन्ज मोडलका दुवै भेरियन्टमा १०० किलोवाटको मोटर रहेको छ । स्ट्याण्डर्ड रेन्ज भएको यो मोडलमा पनि लङ रेन्जको जस्तै सुरक्षा फिचर तथा इन्फर्मेशन टेक्नोलोजी लगाएत अन्य फिचरहरु समान रहेको छ ।

दुई भेरियन्टमा आउने स्ट्याण्डर्ड रेन्जको हाइमा शनरुफ, भेन्टीलेटेड तथा हिटेड सिट फिचर सुविधाका साथमा लेदरेट सिट छ भने लो भेरियन्टमा यी सुविधा छैन ।

लङ रेन्ज जेडएस ईभीमा ७२.६ किलोवाट आवरको ब्याट्री प्याक र १३० किलोवाटको मोटर रहेको छ । कम्पनीले स्ट्याण्डर्ड मोडलको एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ ।


Back_to_top