इलेक्ट्रीक एसयूभीपछि ह्याचव्याकमा प्रतिस्पर्धा, आउँदै ४ नयाँ मोडल

काठमाडौं । विद्युतीय कारको माग बढेसँगै नयाँ मोडल आउने क्रमले तिब्रता पाएको छ । सन् २०१८ बाट एसयूभी सेग्मेन्टमा तिब्र प्रतिस्पर्धा सुरु भएको विद्युतीय कार अब भने ह्याव्याकमा प्रतिस्पर्धा सुरु हुने भएको हो ।

विशेषगरी किफायती मूल्य र प्रिमियम फिचरको साथ नेपाल आउन लागेका विद्युतीय कार धेरैले कुरेर बसेको मोडलमा पर्छ ।

अहिले नेपालमा उपलब्ध विद्युतीय कार बिक्री गर्ने ब्राण्ड टाटा, एमजी, बीवाइडी र सिट्रोनले ह्याचव्याक सेग्मेन्टमा नयाँ विद्युतीय कार बिक्री सुरु गर्दैछन् । यी कम्पनीहरुले २६ लाखदेखि ४५ लाख रुपैयाँ भित्र मूल्य पर्नेगरी ईभी नेपाल ल्याउन लागेका हुन् ।

अहिले बीवाइडीको इलेक्ट्रीक ह्याचव्याक मोडल डल्फीन नेपाल आइसकेको छ । कम्पनीले सुरुमा एक यूनिट कार परिक्षणको लागि ल्याएको जनाएको छ । यसको मूल्य लगायतका कुनै पनि विषयमा कम्पनीले अहिलेसम्म जानकारी दिएको छैन ।

सिट्रोनले आफ्नो सीथ्री इलेक्ट्रीकको बुकिङ नै खुल्ला गरेको छ । कम्पनीले दुई भेरियन्टमा उपलब्ध गराउने सिथ्रीको मूल्य ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरेर बुकिङ लिइरहेको छ । सीथ्री इलेक्ट्रीक बिक्री गर्ने माेडल काठमाडाैं आइपुगेको छ ।

टाटाले पनि टियागो ईभी जुलाईबाटै नेपालमा बिक्री सुरु गर्ने जनाएको छ । अबको केही दिनपछि नै टियागो ईभीको बुकिङ खुल्ला गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । यो संभवत ह्याचव्याक सेग्मेन्टमा सिट्रोन सिथ्रीभन्दा निकै राम्रो मूल्यमा उपलब्ध हुनेछ ।

सेप्टेम्बर महिनाबाट बिक्री सुरु गर्ने तयारी सहित एमजी फोर नेपाल आउन लागेको छ । एमजीको प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको पहिलो कार एमजी फोर क्रसओभर मोडल हो ।

ब्याट्री साइज र रेन्ज

सिट्रोन सिथ्रीमा २९ किलोवाट आवरको ब्याट्री उपलब्ध रहने छ । यसले सिंगल चार्जमा ३२१ किलोमिटर रेन्ज दिने दावी गरिएपनि भारतमा भएको सडक परिक्षणमा २१० किलोमिटर रेन्ज दिएको परिक्षणहरुले देखाएको छ ।

नेपाल आएको बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

टाटा टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । तर, यसको पनि वास्ताविक रेन्ज २ सय किलोमिटर रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एमजी फोरमा ५१ किलोवाट आवरको ब्याट्री दिइएको छ । डब्लूएलटीपीका अनुसार यो प्रिमियम ह्याचव्याकले सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने जनाएको छ ।

कुनमा कत्रो मोटर ?

मोटरको हिसावले सबैभन्दा ठूलो मोडल एमजी फोर हुनेछ । एमजी फोरमा १०० किलोवाट क्षमताको मोटर जडान भएर नेपाल आउने छ ।

त्यस्तै, बीवाइडी डल्फीनमा ७० किलोवाट क्षमताको मोटर छ भने टाटा टियागो ५० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुनेछ । सबैभन्दा सानो मोटर ४२ किलोवाट क्षमताको सिट्रोन सिथ्रीमा प्रयोग भएको छ ।


Back_to_top