काठमाडौं । मारुती सुजुकी साना र कम मूल्यका गाडीको लागि परिचित ब्राण्ड हो । विश्वब्यापी बढ्दो एसयूभीको क्रेजसँगै कम्पनीले सन् २०१६ बाट भिटारा ब्रेजा नामबाट पहिलो सब फोर मिटर एसयूभी ल्याएको थियो ।
सन् २०२२ सम्म ब्रेजाको भरमा रहेको मारुती सुजुकीले त्यसपछि भने ३ नयाँ मोडल बजारमा ल्याइसकेको छ । कम्पनीले ब्रेजापछि ग्राण्ड भिटारा, फ्रोनक्स र जिम्नी भारतमा उत्पादन थालेको हो ।
अहिले भारतमा यी सबै मोडलको बिक्री सुरु भएको छ भने नेपालमा ब्रेजा र ग्राण्ड भिटारा बिक्री हुँदै आएको छ । आगामी नाडा अटो शो २०२३ मा कम्पनीले फ्रोनक्स र जिम्नी एसयूभी नेपाली बजारमा उतार्ने छ । योसँगै कम्पनीसँग ४ एसयूभी मोडल हुनेछ ।
सिजी मोटोकर्पले फ्रोनक्स र पाँच ढोका भएको जिम्नी नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । यी दुबै भारतमा उत्पादन भएका नयाँ मोडल हुन् ।
भारतमा एसयूभीको बिक्रीमा पनि सुजुकीले सबैलाई उछिन्ने अवस्था देखिएको छ । जुन २०२३ मा भारतमा ३२ हजारभन्दा बढी यूनिट एसयूभी बिक्री गर्दै मारुती सुजुकीले आफुलाई एसयूभीमा पनि अब्बल खेलाडीको रुपमा उभ्याएको छ ।
जुन महिनामा कम्पनीले सबैभन्दा धेरै ब्रेजा १० हजार ५७८ यूनिट बिक्री गरेको छ । फ्रोनक्सको बिक्री ८ हजार यूनिट हुँदा, ग्राण्ड भिटारा १० हजार ४८६ यूनिट र जिम्नीको ३ हजार ७१ यूनिट होलसेल बिक्री भएको हो ।


