७ सिट क्षमताका तीन नयाँ एसयूभी नेपाल आउने

काठमाडौं । एसयूभीको बजार हिस्सा बढ्दै गएसँगै ७ सिट क्षमताका एसयूभी पनि धमाधम नेपाल आउने भएका छन् । थ्रि रो सिटिङ सहित आउने ७ सिट क्षमताका ३ नयाँ मोडल नेपाल आउने भएका हुन् ।

टाटा सफारी, हुन्डाई अल्काजार र एमजी हेक्टर चाँडै नेपाल आउन सक्ने मोडल हुन् । यी तीन वटै मोडल भारतमा विक्री वितरण भइरहेका छन् । भारतमा उत्पादन भएका यी एसयूभीको मूल्य ७० लाखदेखि १ करोड रुपैयाँसम्म पर्ने अनुमान लगाउन सकिन्छ ।

लामो निषेधाज्ञापछि बजारमा चहलपहल बढाउन पनि कम्पनीहरु नयाँ मोडल ल्याउन लागि परेका छन् । यस्तोमा टाटा सफारीको नयाँ जेनेरेशन मोडल अर्को हप्तासम्ममा नेपाल आउने सिप्रदी ट्रेडिङ स्रोतले जानकारी दिएको छ ।

एमजी हेक्टर पनि नेपाल ल्याउने कुरा भइरहेको पारामाउन्ट मोटर्स स्रोतले जानकारी दिएको छ । यद्यपी हेक्टर कहिले नेपाल आउने छ भन्ने विषयमा केही खुलाइएको छैन ।

हुन्डाई अल्काजार पनि दशैं अगाडि नै नेपाल आउने मोडलमा पर्छ । भारतमा विक्री सुरु भइसकेको अल्काजार नेपाली बजारमा पनि आउने पक्का छ ।

टाटा सफारी

टाटा सफारी नेपालको लागि नौलो नाम होइन । तर, पहिलेको डिजाइनसँग कतै नमिल्ने सफारी हाइटेक फिचर सहित नेपाल आउने भएको हो । बोस मोड, पानारोमिक सनरुफ, कनेक्ट कार टेक, उत्कृष्ट सिट, जेवीएलको अडियो सिस्टम सफारीको मुख्य आकर्षण हो ।

नयाँ सफारीको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । प्रिमियम लेदर सिट, ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा रहेका छन् । टाटा सुरक्षीत कार उत्पादनमा चर्चित नाम भइसकेकाले कम्पनीले ल्याउन लागेको सफारी पनि त्यतिकै सुरक्षीत रहने अनुमान गरिएको छ ।

नयाँ सफारीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । यसको मूल्य ९० लाखदेखि १ करोडसम्म कायम हुने अनुमान गर्न सकिन्छ ।

एमजी हेक्टर प्लस

एमजीले भारतमा उत्पादन गरेको पहिलो एसयूभी हेक्टर निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ । यसअघि नै नेपाल ल्याउने तयारी भएपनि विभिन्न चरणको बन्दाबन्दीले हेक्टर नेपाल आउन सकेको थिएन ।

एमजी हेक्टरको एक्सटेरियर र इन्टेरियरमा आकर्षक रहेको छ । डबल टोन डायमन्ड कट अलोय ह्वील, एलइडी टर्न सिग्नल लाइट, सिल्भर रुफ रेल, सार्क फिन स्पोइलर, रियर विन्डशिल्ड वाइपर, सिम्पल लुकिंग एलइडी टेलल्याम्प, मस्कुलर रियर बम्पर लगायतका विशेषताले हेक्टरलाई उत्कृष्ट बनाएको छ ।

इन्टेरियरमा पावर एडजस्टेबल सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामरा, प्यानोरमिक रुफ, आइ स्मार्ट नेक्ट जेनेरेशन सिस्टम यसको मुख्य आकर्षण हुन् ।

हेक्टरको क्याविन एआइ असिस्टबाट नेभिगेसन, क्लाइमेट कन्ट्रोल, सनरुफ अप्रेसन लगायत चलाउन सकिने छ । हेक्टरमा भएको उक्त एआइ वेसलाई माइक्रोसफ्ट इन्टेलिजेन्ट सेक्युरिटी र जियो-फेन्सिङले सुरक्षा प्रदान गरिएको छ ।

हेक्टरमा उपलब्ध १.५ लिटर पेट्रोल इन्जिनले १४३ पीएस, २५० एनएम टर्क, ६ स्पीड गियरबक्स दिइएको छ । त्यस्तै डिजेल भर्सजमा २.० लिटर इन्जिन पाउन सकिन्छ । यसको मूल्य ६५ लाखदेखि ८० लाख भित्र रहने अनुमान गर्न सकिन्छ ।

हुन्डाई अल्काजार

हुन्डाईले ६ र ७ सिट अप्सनसहित आएको नयाँ एसयूभी अल्काजार नेपाल ल्याउने छ । हुन्डाई क्रेटाको प्ल्याटफर्ममा तयार भएपनि निकै फरक देखिने अल्काजार लामो ह्वीलवेसको कारण चर्चामा छ । यसमा २७६० एमएमको ह्वीलवेस दिइएको छ । ट्वीक्ड ग्रिल, अपग्रेडेड बम्पर, दुई एग्जस्ट पाइप, आल्मुनियम स्कीड प्लेट, १८ इन्चको अलोय ह्वील जस्ता फिचर यसको एक्सटेरियरमा पाउन सकिन्छ ।

कम्पनीले यसमा २.० लिटर क्षमताको पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसमा प्रयोग भएको २.० लिटर पेट्रोल इन्जिनले अधिकतम १५९ हर्सपावर र १९२ एनएम टर्क प्रदान गर्ने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।

यसमा रहेको डिजेल इन्जिन भने क्रेटाबाट नै लिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यसमा पनि ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।

अल्काजारमा कम्पनीले १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्च कै इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामेरा, पानारोमिक सनरुफ, आइएसओ फिक्स चाइल्ड सिट, वायरलेस चार्जिङ जस्ता फिचर दिएको छ । यसको मूल्य ७५ लाखदेखि ९० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top