काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो प्रोडक्ट लाइनअपको सबैभन्दा ठूलो एसयूभी प्यालिसेडको विक्री सुरु गरेको छ । सन् २०१८ को लसएन्जलस अटो शोमा पहिलो पटक देखाएको प्यालिसेड ७ सिट क्षमताको एसयूभी हो ।
अमेरिकी सहर लसएन्जलसको प्यालिसेड भन्ने ठाँउको नाम दिएर बजारमा आएको यो एसयूभी अमेरिकी बजारमा राम्रो व्यापार गरिरहेको मोडल हो । नेपालमा भने कोरियामा उत्पादन भएर आएको हो ।
प्यालिसेडमा २.२ लिटरको डिजल इन्जिन दिइएको छ । उक्त इन्जिनले २०० पीएस पावर तथा ४४१ एनएम टर्क प्रदान गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।
प्यालिसेडको लम्बाई ४ हजार ९८० एमएम, चौडाइ १ हजार ९७५ एमएम, उचाई १ हजार ७५० एमएम रहेको छ । यो एसयूभीको ह्वीलवेस २ हजार ९०० एमएम रहेको छ । आधुनिक फिचरहरुले सुसज्जीत यो एसयूभी सुरक्षाका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको कम्पनीको दावी छ ।
लक्ष्मी हुन्डाईले प्यालिसेडको दुई भेरियन्ट जीएल र जीएलएक्स नेपाल ल्याएको हो । जीएल भेरियन्टको मूल्य १ करोड ९४ लाख ९६ हजार र जीएलएक्स भेरियन्टको मूल्य २ करोड २५ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री सुरु भएको हो ।
नेपाली बजारमा यसको प्रतिस्पर्धा टोयाटा फर्चुनर र फोर्डको इन्डेभरसँग हुने अनुमान गरिएको छ ।

