काठमाडौं । नेपाली बजारमा बेनेलीको सबैभन्दा सस्तो मोटरसाइलको रुपमा चर्चा कमाएको मोटरसाइकल टीएनटी-१५ को मूल्य २ लाख ४७ हजार रुपैयाँ पुगेको छ । तीन वर्ष अगाडि नेपालमा सार्वजनिक भएको यो मोटरसाइकलको मूल्य हालसम्म १७ हजार रुपैयाँले वृद्धि भएको हो ।
तीन वर्ष अगाडि नेपाली बजारमा सार्वजनिक गर्दा कम्पनीले टीएनटी-१५ को मूल्य २ लाख ३० हजार रुपैयाँ निर्धारण गरेको थियो ।
केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा बेनेलीको मोटरसाइकल विक्री गर्दै आएको छ ।
मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
नेपाली बजारमा टीएनटी-१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ ।
बेनेली टीएनटी-१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १३ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५-स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

