काठमाडौं । लोकप्रिय मोटरसाइकल ब्राण्ड बजाजले निकट भविष्यमा नै तीन नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले अबको दुई महिना भित्रै पल्सरको ३ नयाँ मोडल बजारमा ल्याउन लागेको हो ।
बजाज पल्सर सिरिज नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकलमा पर्छ । अहिले कम्पनीले पल्सर १२५, एनएस १२५, पल्सर १५०, पल्सर एन १६०, पल्सर एनएस २००, पल्सर २२० एफ र पल्सर एन २५० जस्ता मोडल विक्री हुँदै आएको छ ।
यस्तोमा बजाजले भारतीय बजारबाट पल्सर सिरिजमा एन १२५, एन १५० र नयाँ जेनेरेशन पल्सर १५० क्लासिक बजारमा ल्याउने तयारी गरेको छ । यी तीनवटै मोडल अबको केही महिना भित्रै बजारमा आउने छन् ।
बजाज पल्सर एन १२५
बजाजको सबैभन्दा कम मूल्यमा आउने एन सिरिजको नयाँ मोडल पल्सर एन १२५ भारतमा परिक्षणको क्रममा देखिएको छ । टीभीएस रेडर १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेगरी बजारमा आउन लागेको यो मोटरसाइकलमा १२५ सीसी क्षमताको इन्जिन उपलब्ध छ ।

नयाँ एन १२५ मा एलइडी लाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सिंगल च्यानल एबीएस जस्ता फिचर उपलब्ध रहने छन् । पल्सर एन सिरिजको डिजाइन भने एन २५० बाट प्रेरित रहने छ ।
पल्सर एन १५०
बजाजले एन १२५ र १६० को बीचमा रहनेगरी एन १५० मोडल पनि बजारमा ल्याउने तयारी गरेको छ । यसको पनि सडक परिक्षण सुरु भएको थुप्रै दिन भइसकेको छ । १४९ सीसी क्षमताको इन्जिन रहने एन १५० स्टाइल र पर्फमेन्सको बजोड समिश्रणमा तयार भइरहेको छ ।

बजाजले एन १५० मा डबल च्यानल एबीएस, ड्यूल डिस्क ब्रेक, मोनो शक रियर सस्पेन्सन र सबै लाइट एलइडी प्रयोग हुनेछन् । सम्भवत कनेक्ट फिचर सहित बजाज पल्सर एन १५० बजारमा आउने छ ।
बजाज पल्सर १५० क्लासिक
बजाज मोटरसाइकलमा सबैभन्दा सफल मोडल रहेको पल्सर १५० क्लासिकको पनि नयाँ मोडल बजारमा आउने तयारी भइरहेको छ । कम्पनीले अहिले विक्री गर्दै आएको पल्सर १५० मा केही फिचर परिवर्तन गरेर नयाँ मोडल ल्याउन लागेको हो ।
कम्पनीले यसको कस्मेटीक परिवर्तन गरेपनि इन्जिनमा भने कुनै परिमार्जन गर्ने छैन । यसको अपडेट गरिएको मोडल तिहार अघि नै बजारमा आउने अनुमान गरिएको छ ।


