काठमाडौं । सन् २०२० मा कोभिड १९ को कारण अटोमोवाइल क्षेत्रमा धेरै उतार चढाव आयो । धेरै कम्पनीले ल्याउन लागेका नयाँ मोडलहरु आउन सकेनन् । यस्तोमा सन् २०२१ मा धेरै नयाँ मोडल बजारमा आउने छन् ।
भारतमा उत्पादन हुने विभिन्न ब्राण्डका विभिन्न मोडलहरु नेपाली बजारमा पनि विक्री हुने हुँदा त्यसलाई विशेष चासोको रुपमा लिने गरिन्छ ।
यस्तोमा सन् २०२१ मा टाटा, मारुती सुजुकी, हुन्डाई, स्कोडा, रेनो, फक्सवागन, जीप, सिट्रोन, महिन्द्रा जस्ता ब्राण्डले नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
सन् २०२१ मा टाटाले ७ सिट क्षमताको एसयूभी ग्राभिटास, माइक्रो एसयूभी एचबीएक्स र इलेक्ट्रीक कार अल्ट्रोज बजारमा उतार्ने तयारी गरिरहेको छ ।
मारुती सुजुकीले नयाँ जेनेरेशन अल्टो र नयाँ जेनेरेशन सेलेरियो बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले २०२० मा नै ल्याउने तयारी गरेको यी दुई मोडल २०२१ को मध्यसम्ममा नै बजारमा ल्याउने छ ।
रेनोले नयाँ सब फोर मिटर एसयूभी बजारमा ल्याउने तयारी सुरु गरिसकेको छ । कम्पनीले ल्याउने नयाँ सब फोर मिटर एसयूभीको नाम किगर रहने छ । कम्पनीले यसअघि ल्याएको नयाँ मोडल ट्राइबर र क्वीड फेसलिफ्टको सफलतापछि नयाँ मोडल ल्याउने तयारी गरेको हो ।
महिन्द्राले स्कर्पियो र एसयूभी ५०० को नयाँ जेनेरेशन मोडल बजारमा ल्याउने छ । साथै, कम्पनीले इलेक्ट्रीक केयूभी १०० को विक्री पनि आगामी जनवरीबाटै सुरु गर्दैछ ।
हुन्डाईले क्रेटा प्ल्याटफर्ममा ७ सिट क्षमताको नयाँ एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको छ । भारतको विभिन्न स्थानमा सडक परिक्षण भइरहेको ७ सिट क्षमताको एयसूभीको विक्री २०२१ मा नै सुरु हुने छ । साथै, कम्पनीले पिकअप सान्ट्राक्रुजको विक्री पनि सुरु गर्ने छ ।
स्कोडाले नयाँ क्रसओभर एसयूभी २०२१ मा विक्री सुरु गर्दैछ भने, स्कोडाले भिजन इन प्लानसहित ल्याउन लागेको एसयूभी पनि २०२१ मा नै विक्री सुरु हुने छ ।
जीपले पनि २०२१ को अन्त्यसम्ममा नयाँ सब फोर मिटर एसयूभीको बजारमा विक्री सुरु गर्ने अनुमान गरिएको छ । सिट्रोनले पनि भारतमा नयाँ सब फोर मिटर एसयूभी ल्याउँदै छ ।


