आउँदै छन् ४ इलेक्ट्रीक अफरोड एसयूभी, तपाईको रोजाईमा कुन ?

काठमाडौं । विद्युतीय साधनमा अफरोड एसयूभी खोज्नेहरु बढ्न थालेका छन् । त्यसैले विश्वभरका गाडी निर्माताको योजनामा अफरोड एसयूभीहरु समावेस भएको पाइन्छ ।

अमेरिकी उत्पादकदेखि भारतीय उत्पादकसम्मको रोजाईमा अफरोड एसयूभी पर्दै आएका छन् । पछिल्लो दिनमा चीनपनि अफरोड एसयूभीको उत्पादनमा आक्रमक रहेको छ । चिनियाँ ब्राण्ड बीवाइडीदेखि जेटोरसम्म तथा चेरीदेखि ग्रेटवाल मोटर्ससम्मले अफरोड एसयूभी उत्पादनमा जोड दिएका छन् ।

तर, हामीले यहाँ चिनियाँ बाहेकका उत्पादकको रोजाईमा परेका अफरोड एसयूभीको विषयमा यहाँ उल्लेख गर्न लागेका हौ । भारतीय निर्माता महिन्द्रा, जापानीज उत्पादक टोयोटा, फ्रन्च निर्माता रेनो र अमेरिकी निर्माता जीपले ल्याउँदै गरेका लाइफस्टाइल एसयूभीको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

कम्पनीहरुले घोषणा गरेका यी सबै अफरोड एसयूभीहरु सन् २०२५/२६ भित्रै बजारमा आउने छन् । यस्तोमा कन्सेप्टको रुपमा हामी माझ आएका यी ब्राण्डका एसयूभी कस्ता छन् भन्ने बारे चर्चा गरौं ।

महिन्द्रा थार

एसयूभी उत्पादनमा निकै ठूलो सफलता हात पार्न सफल महिन्द्राको थार पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनमा पनि निकै सफल मोडल हो । जस्तोसुकै बाटोमा पनि आफ्नो उच्च पर्फमेन्सले उपभोक्ताको मन जित्न सफल थारलाई कम्पनीले इलेक्ट्रीकमा पनि ल्याउने घोषणा गरिसकेको छ ।

महिन्द्राले इलेक्ट्रीक थारको कन्सेप्ट अघिल्लो वर्ष नै सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट अनुसार नयाँ थार निकै स्टाइलिस डिजाइन र अफरोड पर्फमेन्स क्षमताले भरिपूर्ण रहने अनुमान गरिएको छ ।

यसमा रहने फोर वाई फोर क्षमता र बडी डिजाइन दुबैले धेरैको मन जित्ने अपेक्षा महिन्द्राले गरेको छ । कम्पनीले अक्टोबर २०२५ बाट यसलाई बजारमा ल्याउने बताएको छ ।

टोयोटा कम्प्याक्ट क्रुजर

जापानी उत्पादकले आफ्नो चर्चित मोडल नेम ल्याण्ड क्रुजरबाट प्रेरित रहेर कम्प्याक्ट क्रुजर नाममा लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा ल्याउन लागेको हो । टोयोटा एफजे क्रुजर जस्तै सानो साइजमा यसलाई कम्पनीले ल्याउने छ ।

टोयोटाले सन् २०२१ को अन्तिममा कम्प्याक्ट क्रुजरको कन्सेप्ट देखाएको थियो । टोयोटाको सन् २०३० सम्मको रणनीतिक योजनामा अटाएको कम्प्याक्ट क्रुजर ईभी कहिले बजारमा आउँछ भन्ने एकिन घोषणा भएको छैन ।

रेनो-फोर

फ्रेन्च निर्माताले आफ्नो लाइफस्टाइल इलेक्ट्रीक एसयूभीको लाइनमा ‘रेनो फोर’ समावेस गरेको छ । कम्पनीले यसको कन्सेप्ट अघिल्लो वर्ष देखाएको हो । निकै सार्प डिजाइनमा देखाइएको रेनो फोरमा रहने फिचर लगायतका विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

रेनोको ‘सीएमएफ-बीइभी’ प्लेटफर्ममा बन्ने अफरोड एसयूभीमा फोर वाई फोर सिस्टम रहने अनुमान गर्न सकिन्छ । आधुनिक फिचर र डिजाइन एलिमेन्ट समावेस भएको रेनो-फोर ईभी सन् २०२५ को अन्तिमबाट बजारमा आउने अपेक्षा गरिएको छ ।

जीप रेकन

चर्चित ब्राण्ड जीपले अघिल्लो वर्ष देखाएको रेकन एसयूभीको कन्सेप्ट हेरेपछि धेरैले अफरोड ईभीमा नयाँ बेन्चमार्क कायम गर्ने प्रतिक्रिया दिएका थिए । यसमा ठूलो टायर, लङ ट्राभल सस्पेन्सन, एक्ट्रीम एप्रोच पाउन सकिन्छ ।

जीप रेकनमा वानटच पावर स्लाइडिङ रुफ र रिमुभेवल डोर, उच्च क्षमताको अफरोड क्यापाविलीटी प्रदर्शन गर्न सक्षम हुने कम्पनीको दावी छ । यसमा टेरेन छनौटको सुविधाका साथै इलेक्ट्रोनीकल्ली लकिङ एक्सल रहने छ । कम्पनीले यसमा प्रयोग हुने ब्याट्री र मोटरको क्षमताका विषयमा भने केही पनि जानकारी दिएको छैन ।


Back_to_top