साना गाडी किन्न सहज कर्जा

काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले अटो कर्जामा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाबाट गाडी किन्न सहजै ऋण पाउन सक्ने अवस्था थिएन

राष्ट्र बैंकले सवारी कर्जाको जोखिमभार बढाउँदा एकातिर बैंक तथा वित्तीय संस्थाले अटो कर्जा लगानीमा चासो देखाएका थिएनन् भने अर्कोतर्फ आम्दानी कम हुने ग्राहकलाई कर्जा लिन सहज थिएन ।

तर, चालु आवको पहिलो त्रैमासदेखि भने राष्ट्र बैंकले सवारी कर्जामा केही लचकता अपनाउँदै आएको छ । असोजमा १२५ प्रतिशतमा झारेको सवारी कर्जाको जारिखा भार गत साता १०० प्रतिशतमा झारेको छ ।यसले कर्जा विस्तामा बैंकहरूलाई सहज बनाएको छ ।

यद्यपि, जोखिमभार घटाए पनि पेट्रोलियम पदार्थबाट चल्ने कारमा डाउन पेमेन्ट भने ५० प्रतिशत यथावत राखेको छ । व्यवसायीहरूले डाउन पेमेन्ट २० प्रतिशतमा झार्न माग गरे पनि राष्ट्र बैंकले सुनुवाइ गरेन ।

चर्को करका दर र महंगो ब्याजदरले गाडी चाहिएर पनि खरिद गर्न सक्ने अवस्था थिएन । विगत ६ महिनादेखि निरन्तर कर्जामा ब्याजदर घट्दो क्रममा रहनु, एकपछि अर्को कम मूल्यका विद्युतीय कार बजारमा आउनु र पेट्रोल कारमा पनि कम्पनीहरूले राम्रो स्कीम दिएको कारण उपभोक्तले केही राहत महशुस गरेका छन् ।

बजारमा उपलब्ध कम मूल्यका कारहरू कोमेट, विलिङ एयर, हेनरी भोल्टास, क्वीड, टियागो, सेरेस ई–१, सेलेरियो जस्ता मोडल किन्न चाहने ग्राहकले सहजै किन्न पाउने अवस्था देखिएको छ । ईभी किन्न चाहनेहरूले डाउन पेमेन्ट पनि मूल्यको २० प्रतिशत मात्रै जम्मा गर्दा पुग्छ ।

मूल्यका हिसाबले १६ लाखदेखि ३० लाख रुपैयाँ भित्रका कारहरू इन्ट्री लेभल कार खोज्नेहरूलाई उपयुक्त हुन्छ । त्यसैले यस्ता कारहरू किन्न चाहनेले सहज तरिकाबाट कर्जा सुविधा पाउन सक्छन् ।

बैंकमा लगानी योग्या रकम बढ्यो, ब्याजदर घट्यो

सन् २०२२ र २०२३ मा लगानी योग्य रकम अभाव (न्यून तरलता) को कारण बैंकहरूले ठूलो परिणाममा कुनै पनि क्षेत्रमा कर्जा विस्तार भएन । त्यसमाथि बैंकको ब्याजदर बढेर १४/१५ प्रतिशत पुग्दा साना कार किन्नेहरूले कर्जा उपभोग गर्न सकेनन् ।

सन् २०२३ को अन्तिमबाट बैंकिङ क्षेत्रमा तरलता बढ्यो, क्रमशः ब्याजदर घट्दै गयो । त्यसैले हिजो गाडी किन्ने योजना बनाएका मानिसको लागि अहिले नयाँ अवसर बनेर आएको छ । ब्याजदर अझै घट्दो क्रममा छ । अहिले नै ९/१० प्रतिशत ब्याजदरमा कर्जा पाउन थालिएको छ ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । अन्य क्षेत्रमा कर्जाको माग नहुँदा अटोकर्जा लिन खोज्नेले आवश्यक कागजपत्र तयार परेर आवेदन दिने हो भने एक साता भित्रमा कर्जा स्वीकृति पाउने अवस्था छ ।


Back_to_top