काठमाडौं । प्रिमियम कारमा भएका फिचरहरु उपलब्ध बजेट कार नेपाल आउने क्रम बढ्दै गएको छ । यहि क्रममा दुई नयाँ मोडल नेपाल आउन लागेको हो ।
नेपाल आउने नयाँ टाटा पन्च र नामी-०१ मा धेरै मोर्डन फिचर पाउन सकिन्छ । यी कार मूल्यको हिसावले पनि निकै राम्रो हुने अनुमान गर्न सकिन्छ । यी दुबै मोडलको मूल्य ३० देखि ४० लाख रुपैयाँ भित्रै रहने छ ।
भदौ ११ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोबाट यी दुबै कार बिक्री सुरु हुने पक्का भइसकेको छ । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी आउने जानकारी दिइसकेको छ ।
नामी डोङफेङ मोटर्सको इलेक्ट्री कार उत्पादन गर्ने ब्राण्ड हो । यसको पहिलो मोडल नामी-०१ अहिले नेपालका विभिन्न भागमा परीक्षण भइरहेको छ । एमएडब्लू मोटोकर्पले नेपाल ल्याएको नामी-०१ अटोबाटै बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।
यस्तो छ पन्च ईभी
टाटा पन्च नयाँ जेनेरेशन जीपट्रोन प्रविधिमा आधारित विद्युतीय कार हो । दुई ब्याट्री अप्सनमा आउने पन्च ईभीमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर दिइएको छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्दछ । त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्छ । नेपाल आउँदा मोटर पावरमा केही हेरफेर हुन सक्छ ।

स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड, इम्पावर्ड प्लस गरी पाँच भेरियन्टमा भारतमा पाँच भेरियन्टमा किन्न पाइने पन्च ईभी नेपाल कति भेरियन्टमा आउँछ भन्ने कुने जानकारी प्राप्त भएको छैन ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ । यी फिचर पन्च पेट्रोलमा पाइँदैन ।
त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।
नामी-०१
डोङफेङ नामी प्रिमियम फिचर भएको इलेक्ट्रीक ह्याचब्याक कार हो । यो कारमा फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ जस्ता सेग्मेन्ट फस्ट फिचरहरू छन् । नामी-०१ को ड्यासबोर्डमा ५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको सेन्ट्रल स्क्रीन छ ।
नामी-०१ लाई मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट फिचरसहित ल्याइएको छ । यसमा स्पोर्टी टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्वील छ । एडास २.० सुरक्षा फिचर रहेको यो कारमा ३६० डिग्री क्यामरा तथा २ एयरब्याग पाउन सकिन्छ ।

प्रिमियम इलेक्ट्रीक ह्याचब्याक नामी-०१ को लम्बाई ४०३० एमएम चौडाई १८१० एमएम, उचाई १५७० एमएम रहेको छ । यसको ह्वीलबेस २६६० एमएम छ । १७ इन्चको ह्वील रहेको नामी-०१ को ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।
यसमा ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ७० किलोवाटको मोटर छ । यसले ४०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


