काठमाडौं । भदौ ११ गतेदेखि हुने नाडा अटो शोमा दुई नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउने भएका छन् । रोयल इनफिल्ड र सीएफमोटोले प्रिमियम एड्भेन्चर सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेका हुन् ।
रोयल इनफिल्डले हिमालयन ४५० र सीएफ मोटोले एमटी ४५० नेपाल ल्याउने छन् । यी दुबै कम्पनीले नेपाल ल्याउने मोटरसाइकल आगामी दशैं-तिहारमा बिक्री गर्ने जनाएका छन् । यी दुबै मोटरसाइकलको मूल्य पनि १० लाख हारहारी हुनेछ ।
रोयल इनफिल्डले हिमालयन ४५० नेपालमै एसेम्बल भएर आउने छ । सीएफ मोटोले भने तयारी मोटरसाइकल नै नेपाल ल्याउने भएको हो ।
यस्तो छ हिमालयन ४५०
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो ।

कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडी/मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।
रोयल इनिफल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले नेपालमै एसेम्बल गर्ने भएका कारण यो मोटरसाइकल १० लाखभन्दा कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।
सीएफ मोटो एमटी ४५०
सीएफ मोटोले केही समय अगाडि मात्रै अन्तर्राष्ट्रिय बजारमा एमटी ४५० एड्भेन्चर सार्वजनिक गरेको छ । नेपालमा सीएफ मोटो तथा जिहो इलेक्ट्रीकको आधिकारिक बिक्रेता कम्पनी ऋषी ट्रेड सेन्टरले नाडा अटो शो २०२४ मा एमटी ४५० ल्याउने तयारी थालेको हो ।

कम्पनीले नेपाल ल्याउने तयारी गरेको एमटी ४५० अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । यो एमटी ४५० एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।
एमटी ४५० मा २१/१८ इन्च स्पोक ह्वील दिइएको छ । कम्पनीले यसमा ट्यूवलेस स्पोक ह्वीलको प्रयोग गरेको छ । एमटी ४५० को मूल्य ११ लाखदेखि १२ लाखसम्म हुने अनुमान गर्न सकिन्छ ।


