काठमाडौं । बजाजले आफ्नो पल्सर सिरिजको सबैभन्दा सानो क्षमताको पल्सर १२५ मोटरसाइकलको २०२६ नयाँ अपडेट भेरियन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले सामान्य अपडेट गरेर बजाज पल्सर १२५ को २०२५ मोडल ९० हजार भारतयी रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको हो ।
नयाँ भेरियन्ट पल्सर १२५ मा एलईडी हेडल्याम्प सेटअपका साथै एलईडी टर्न इन्डिकेटर दिइएको छ । पल्सर १२५ मा पहिलो पटक एलईडी हेडलाइट सेटअप र एलईडी टर्न इन्डिकेटरहरू प्रयोग गरिएको हो । जसले मोटरसाइकललाई पहिलेको तुलनामा अझै आधुनिक र प्रिमियम बनाएको छ ।
मोटरसाइकललाई नयाँ लुक दिन कम्पनीले इन्धन ट्याङ्की, साइड बडी प्यानल र इन्जिन काउलमा नयाँ ग्राफिक्सहरू प्रयोग गरेको छ ।
२०२६ बजाज पल्सर १२५ पहिले जस्तै डिजाइनमा छ । यसमा टेलिस्कोपिक फ्रन्ट फोक्स, रियर ट्विन शक एब्जर्बर, १७ इन्चको एलोय ह्वील, अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक र क्लिप अन ह्याण्डलबारहरू रहेका छन् ।

त्यस्तै, यसमा इलुमिनेटेड स्विचगियर, किक स्टार्टर, प्रपर फ्ल्यासर लेफ्ट साइड स्विच, इन्जिन किल स्विच, ब्रेक लिभरमा कभर र ब्लूटुथ कनेक्टिभिटी सहितको पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलाई नै निरन्तरता दिइएको छ ।
बजाज पल्सर १२५ मा १२४.३८ सीसीको एयर कुल्ड, सिंगल सिलिण्डर, इन्जिन प्रयोग गरिएको छ । यस इन्जिनले अधिकतम ११.८ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।

