तपाईंको सवारी प्रयोगमा छैन ? यसरी गर्नुहोस् लगत कट्टा, नत्र कर तिरिराख्नुपर्छ

काठमाडौं । के तपाईंको आफ्नो सवारी साधन बिग्रिएर कामै नलाग्ने भएर फाल्नु भएको छ ? जलेर खरानी वा बाढीपहिरोमा परेर हराएको छ । यदि, यस्तो भएको छ भने अब सवारी साधन अस्तित्वमा छैन, त्यसैले कर तिर्नुपर्दैन भनेर ढुक्क भएर नबस्नुहोस् ।

किनभने प्रयोगमा नभएका वा अस्तित्वमा नरहेका सवारी साधन भौतिक रूपमा नरहे पनि दर्ता भएको यातायात कार्यालयबाट लगत कट्टा नगरेसम्म कर तिरिराख्नुपर्ने हुन्छ । बिग्रिएर पत्रु भएका, आगलागीमा जलेका, बाढीपहिरोमा हराएका लगायत कुनै कारणले सवारी नष्ट भएको छ भने पनि लगत कट्टा गर्नुहोला ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधित) अनुसार कुनै सवारी काम नलाग्ने गरी नासिएमा, विदेश लगिएमा, नभेटिने गरी हराएमा लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटी बिग्री काम नलाग्ने, प्रयोगमा नभएका वा अस्तित्वमा नरहेका सवारी साधनको करकट्टी गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउँछन् ।

बागमती प्रदेश सरकारले यातायात ऐन बनाए पनि नियमावली र निर्देशिका नबनाएकाले हाल केन्द्र सरकारको यातायात व्यवस्थापन निर्देशिका, २०६० अनुसार नै लगत कट्टा गरिँदै आइएको उनले बताए ।

उनका अनुसार वर्षौं पुराना भई काम नलाग्ने, प्रयोगमा नभएका सवारी साधनको लगत कट्टा गर्न सवारी साधनको इन्जिन र चेसिस काटेर यातायात कार्यालयमा ल्याउनुपर्छ । त्यसरी ल्याएको चेसिस र इन्जिन प्राविधिकले जाँच गरी सिफारिस गरेपछि यातायात कार्यालयले उक्त सवारीको लगत कट्टा गरिदिने उनले बताए ।

भौतिक अस्तित्वमा नभएका (आगलागीमा जलेका, बाढीपहिरोमा हराएका लगायत) सवारीको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिस, प्रहरी कार्यालयको सर्जमिन मुचुल्का, सिफारिस, बीमा कम्पनीको पत्र र ऋणमा किनेको हो भने बैंकको पत्र समेत चाहिने उनले बताए ।

‘अस्तित्वमा भएका सवारीको लगत कट्टा गर्न इन्जिन र चेसिस काटेर ल्याउनुपर्छ । अन्य कागजात चाहिँदैन । तर, अस्तित्वमा नभएका सवारीको हकमा भने वडा कार्यालय, प्रहरीको मुचुल्का, बीमा र बैंकको पत्र समेत चाहिन्छ । त्यसैको आधारमा कट्टा गरिदिन्छौं,’ उनले मेरोअटोसँग भने । जुनसुकै सवारी साधनको लगत कट्टा गर्दा चालु आर्थिक वर्षसम्मको सम्पूर्ण कर चुक्ता गर्नुपर्ने उनले बताए ।

लगत कट्टा गर्न दुईपाँग्रे र चारपाँग्रे सबै सवारीको हकमा एउटै व्यवस्था रहेको छ । अर्थात् चारपाँग्रेको लगत कट्टा गर्न दुईपाँग्रेको जस्तै प्रक्रिया पूरा गर्नुपर्छ ।

लगत कट्टा नगरे कर तिरिरहनु पर्ने ?

हाल सार्वजनिक सवारीको २० वर्ष (बागमती, गण्डकी र कर्णालीले ईभीको ३० वर्ष)मा लगत कट्टा गर्नुपर्ने व्यवस्था छ । तर, निजीको हकमा गण्डकी बाहेक) अरू प्रदेशले अवधि तोकेका छैनन् । गण्डकीले निजी सवारी साधन २५ वर्षमा अनिवार्य पत्रु कायम गरी लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ ।

कुनै पनि सवारी साधन प्रयोग/अस्तित्वमा नभएको तर लगत कट्टा गरेको छैन भने वर्षेनी सवारी कर भने तिरिरहनु पर्ने व्यवस्था रहेको सूचना अधिकारी शिवाकोटीले बताए ।

‘सवारीधनीले मेरो सवारी बिग्रिएर कामै नलाग्ने भयो, जलेर खरानी भयो वा बाढीपहिराले बगायो÷पुरियो भनेर चुप लागेर बस्न हुँदैन । दर्ता भएको कार्यालयमा गएर लगत कट्टा गर्नुपर्छ,’ उनले भने, ‘नत्र भने लगत कट्ट नगरिन्जेलसम्म हरेक वर्ष कर र जरिवाना तिर्नुपर्छ ।’

अस्तित्वमा नभएका सवारीको कर बारे सरकारले हालसम्म अन्य कुनै कानुनी व्यवस्था नगरेको उनले बताए । यदि, सरकारले आगामी दिनमा अन्य कुनै कानुनी व्यवस्था गरे मात्रै कर तिर्न नपर्ने हुनसक्ने उनको भनाइ छ ।

कति लाग्छ शुल्क ?

सवारी साधनको लगत कट्टा गर्नु अघि चालु आवसम्मको वार्षिक कर तिर्नुपर्छ । वार्षिक सवारी कर सवारी साधनको किसिम र इन्जिन/मोटर पावर अनुसार फरक फरक छ ।

वार्षिक कर तिरेपछि लगत कट्टाका लागि मात्रै चारपाँग्रे सवारी साधनको १ हजार र दुईपाँग्रेको ५०० रुपैयाँ शुल्क लाग्छ ।


Back_to_top