काठमाडौं । यातायात व्यवस्था विभागले टेकुस्थित सवारी परीक्षण शाखा (भेहिकल फिटनेश सेन्टर) लाई उपलब्ध गराएको उपकरण सञ्चालनमा नआएपछि अनुमानकै भरमा सवारी चेक–जाँच गरिँदैआएको पाइएको छ । विभागले सवारीसाधनको परीक्षण हेतु ६ करोड लागतमा खरिद गरेको उपकरण प्रयोगमा नआएपछि शाखाले प्रभावकारीढंगबाट काम गर्न सकेको छैन ।
परीक्षण शाखाका कार्यालय प्रमुख रामचन्द्र पौडेलले जडान भएको लामो समयसम्म सञ्चालनमा नआएका कारण उपकरणमा समस्या सिर्जना भएको जानकारी दिए ।
‘लामो समयसम्म सञ्चालनमा नआउँदा मेसिनमा समस्या आइसकेको छ ।’ पौडेलले मेरोअटोसँग भने ।
एउटा पनि सवारीसाधनको परीक्षण नगरिकन उक्त मेसिनहरु बिग्रियका छन् । सुरुमा बिद्युत् र निर्देशिकाको अभावमा संचालन हुन नसकेको सेन्टर पछि मेशिन बिग्रिएर संचालन हुन सकेन ।
हाल मेसिन उत्पादक कम्पनीसँग सम्पर्क गरी मर्मत–सम्भारको पहल भैरहेको छ । तर, सुनुवाई भएको छैन । त्यसैले अनुमानकै भरमा सवारी चेक–जाँच गर्नुपर्ने अवस्था छ ।’ शाखाले मेसिन जडानका लागि आवश्यक सामग्री खरिद गरेको पुरानो कम्पनीनै अहिले बन्द भैसकेको छ ।
विभागले भेहिकल फिटनेस सेन्टरमा २०६८ सालमा केही उपकरण जडान गरेको भएता तापनि २०७१ देखिमात्रै कार्यालय स्थापना गरेको थियो । हाल, कार्यालयमा अटो–लिफ्ट, ह्वील लोड–टेस्टर, ब्रेक–टेस्टर, हेडलाइट–टेस्टर, सस्पेन्सन–टेस्टर, हर्न–टेस्टर, साइडस्लिप–टेस्टरलगायत उपकरण जडान भएका छन् । तर, ती उपकरणले काम गर्दैनन् । गाडीको ब्रेक, लाइट, हर्न, साइडस्लिपजस्ता महत्वपूर्ण परीक्षण मेसिनले गर्नुपर्ने भए तापनि अनुमानको भरमै गर्ने गरिन्छ ।
हचुवाको भरमा परिक्षण
शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–०७५ मा १२ हजार ४ सय ७२ सवारीसाधनको चेक–जाँच गरिएको छ भने १२ हजार ९ सय ५२ सवारीको प्रदूषण चेक–जाँच गरेको छ । शाखाले २ सय ८ रात्रिबसको स्तर परिक्षण गरेको छ भने २२ विद्युतीय सवारीसाधनको सडक सक्षमता परीक्षण गरेको छ ।
यसैबीच, चालु आर्थिक वर्षको ६ महिनामा शाखाले ८ हजार १ सय ३३ सवारीको परीक्षण गरेको छ । सरकारले देशभर बढिरहेको सवारी दुर्घटनाको न्यूनीकरणका लागि सवारीसाधनको अवस्था परीक्षण गर्न यो शाखाको स्थापना गरेको थियो । तर, स्थापना भएको लामो समयसम्म पनि प्रभावकारीरुपमा सञ्चालन हुनसकेको छैन ।
विभागले गत चैतमा परीक्षण शाखा सञ्चालनका लागि निर्देशिका नै निर्माण गरिसकेको छ । साथै, सरकारले आर्थिक वर्ष २०७५–०७६ को वार्षिक बजेटमा परीक्षण कार्यालय सञ्चालनका लागि ६६ लाख बजेट विनियोजन गरेको थियो ।
यद्यपि, शाखाले थप मेसिन जडान गरी सञ्चालनमा ल्याउन ठेकेदारसँग भने कुनै पहल गरेको छैन । यसै वर्ष हेटौंडा र बुटवल परीक्षण केन्द्र स्थापना लागि स्वीकृति लिएको पौडेलले बताए । सातै प्रदेशमा परीक्षण केन्द्र स्थापना गरी प्रदूषण र दुर्घटना नियन्त्रण गर्ने भनिए तापनि आवश्यक काम–कारबाही अगाडि बढ्न सकेको छैन ।

