काठमाडौं । यातायात व्यवस्था विभागले सबै किसिमका सवारीसाधनको दर्ता प्रादेशिक संरचनाको आधारमा दर्ता गर्ने तयारी गरेको छ ।
मन्त्रीपरिषदले पुरानो अञ्चल संरचना अर्न्तगतको यातायात नियमावलीलाई संसोधनगरी संविधान अनुसार प्रदेश सरकार मातहतमा सवारीसाधन दर्ता गर्ने निर्णय गरे बमोजिम अब सबै किसिमका सवारीसाधन प्रदेश अनुसार दर्ता हुने भएको हो ।
‘राजपत्रमा प्रकाशन भएबमोजिम नयाँ सवारीसाधन प्रदेश मातहतमा दर्ता हुनेछ, अहिले हामी सफ्टवयर अपग्रेडको चरणमा छौं । अब नयाँ दर्ताहुने सबै सवारीसाधनमा नयाँ ब्यवस्था अनुसारको नम्बर प्लेट लाग्ने छ’ यातायात ब्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले मेरोअटोसँग भने ।
अब केन्द्रबाट दिँदै आएको केन्द्रीकृत सेवा स्थानीय तहमै पुर्याउने संघीय प्रणालीको अवधारणाअनुसार यातायात क्षेत्रमासमेत नयाँ प्रावधान लागू गर्न लागेको उनले बताए ।
हालसम्म सवारी साधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् ।
विभागका प्रवक्ता गोकर्ण उपाध्यायले साना ठूला सबै सवारीसाधनको दर्ता प्रदेश नम्बरको आधारमा हुने बताए । अब प्रादेशिक रुपमा सवारीसाधनको दर्ताप्रक्रिया सुरु हुने बताउँदै उनले भने ‘हाल दुई वटा प्रदेशको मात्रै नामकरण गरिएको छ । नामाकरण नभएपनि प्रदेश कोणको आधारमा पनि नयाँ दर्ता सुरु हुने छ । क्रमिकरुपमा नामाकरण भएपछि प्रदेशको नामनै नम्बर प्लेटमा उल्लेख हुनेछ ।’
विभागले प्रादेशिक संरचना अनुसार नै अगाडि बढ्ने योजना अनुरुप काम भइरहेकाले अबको केहि दिनभित्रनै नयाँ प्रावधान अनुसार सवारीसाधन दर्ता गरिने उपाध्यायले जानकारी दिए ।
नयाँ ब्यवस्था अनुसार सबैभन्दा अगाडि माथिल्लो लाइनमा प्रदेशको नाम रहने छ भने त्यसपछि प्रदेश अन्तर्गतको यातायात कार्यालयको कोण नम्बर रहने छ । तल्लो रोमा भने लट नम्बर त्यसपछि सवारी साधन कोण र सवारीसाधन नम्बर रहने छ ।


