काठमाडौं । गण्डकी प्रदेश सरकारले सवारीसाधनमा लाग्ने वार्षिक कर वृद्धि गरेको छ । आजदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७६०७७ सँगै गण्डकीमा सवारी कर १ हजारदेखि २ हजार रुपैयाँसम्म वृद्धि भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा यो वर्ष सवारीको दर्ता शुल्क तथा करमा वृद्धि गरेको हो । निजी सवारी साधनको हकमा सवारीको इन्जिन क्षमता अनुसार न्यूतनम १ सयदेखि अधिकतम २ हजार रुपैयाँसम्म शुल्क बढाइएको छ ।
गत वर्ष १२५ सीसीसम्मको मोटरसाइकलले वार्षिक २ हजार ५ सय रुपैयाँ सवारी कर तिर्नुपथ्र्यो । यो आर्थिक वर्षदेखि सो मोटरसाइकलको कर दर १ सय रुपैयाँ बढाइएको छ । २९०१ सीसी भन्दा माथिका निजी सवारी साधनहरुले यो वर्षदेखि वार्षिक ५५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ । अघिल्लो आर्थिक वर्षमा सोही क्षमताका सावरीले वार्षिक ५३ हजार रुपैयाँ कर तिरे पुग्थ्यो ।
त्यस्तै प्रदेश सरकारले भाडामा दर्ता भएका सवारीसाधनहरुको करको दरसमेत परिवर्तन गरेको छ । अघिल्लो वर्षको तुलनामा भाडाका सवारी साधनहरुको कर पनि बढेको हो ।
गण्डकी प्रदेश सरकारले अन्य प्रदेशबाट गण्डकीमा दर्ता हुन आउने सवारी साधनहरुलाई दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तब्यपछि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजस्वको नीतिमार्फत् सवारी दर्ता शुल्क तथा करमा २५ प्रतिशत छुट दिने बताएका थिए ।
सवारी साधन करको दरलाई सामान्य हेरफेर गरिएको छ । २०७६ चैत्र मसान्तसम्म अन्य प्रदेशमा दर्ता भई सवारी सञ्चालन रहेका सवारीधनीले यस प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता स्थानान्तरण (अञ्चलीकरण) गर्न आएमा लाग्ने दर्ता शुल्क तथा सवारी करमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको आर्थिक वक्तव्यमा उल्लेख छ ।
साथै भन्सार बिन्दूबाट आयात गर्दाकै बखत प्रदेशस्थित यातायात कार्यालयमा दर्ता हुन आएका सवारी धनीलाई समेत लाग्ने सवारी कर तथा दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था बजेटले गरेको छ ।


