पोखरा । काठमाडौं बाहिर ठूलो चर्चा र चासोका साथ सुरु भएको ‘वाडा अटो शो २०२५’ले अटो ब्यवसायीमा उत्साह संचार गरेको छ । यसले पोखरामा रहेका अटो ब्यवसायीलाई मात्रै होइन, अन्य सहरमा अटोमोवाइल कारोबार गर्नेलाई पनि उत्साहित बनाएको छ ।
काठमाडौं उपत्यका अहिले पनि अटोमोवाइल क्षेत्रको लागि सबैभन्दा ठूलो बजार हो । उपत्यकामा कुल ब्यापारको ४० देखि ५० प्रतिशत सवारी साधन बिक्री हुन्छन् । बाँकी मोसफलका विभिन्न सहरबाट बिक्री हुँदै आएका छन् । यसअघि चितवनले पनि अटो शो आयोजना गरेको थियो । चितवनमा भएको अटो शोले पनि राम्रै संख्यामा कारोबार भएको थियो ।
वाडा अटो शो चितवनको भन्दा अझ फरक देखिएको छ । पोखरा गण्डकी प्रदेशको राजधानीसँगै नेपालकै सबैभन्दा ठूलो पर्यटकिय सहर हो । तुलनात्मक रुपमा निकै समृद्ध सहर मानिने पोखरामा गाडी आयातकर्ताहरुको ध्यान धेरै पर्ने गरेको पाइन्छ । त्यसैले आयातकर्ताहरुले नै त्यहाँ आफ्नो उपस्थिति बलियो बनाएका छन् ।
चल्तीका ब्राण्डहरु टाटा, बीवाइडी, हुन्डाई, एमजी, निसान, ओमोडा/जेको, दीपल, किया, रेडारा, लीपमोटर, सिट्रोन लगायतका ब्राण्डको बलियो उपस्थिति रहेको छ । दुई पाङ्ग्रेमा पनि यामाहा, टीभीएस, बजाज, ट्रायम्फ, एथर, रोयल इन्फिल्ड जस्ता चल्तीका ब्राण्डको सहभागिता पाउन सकिन्छ ।
कम्पोनेन्ट, टायर/ट्युव, ल्युव, बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स जस्ता कम्पनीको पनि सहभागिताले वाडा अटो शोलाई वृहत बनाएको छ ।
‘हामीले पहिलो पटक वृहत अटो शो पोखरामा गर्न सफल भयौ । हाम्रो प्रयासमा सबैको सहयोग भयो । अझ योभन्दा ठूलो र भब्य कार्यक्रम गर्न सकिने विश्वास सृजना भएको छ । यसले उपत्यका बाहिरका सहरमा पनि अटो शोको माहोल निर्माण गरेको छ’, पश्चिमाञ्चल अटोमोवाइल एशोसिएशनका अध्यक्ष दीपेन्द्र कोइरालाले मेरोअटोसँग भने ।
वाडा अटो शो २०२५ भोलि आइतबारसम्म संचालन हुनेछ । चार दिन चल्ने उक्त अटो शोमा दुई दिनमा राम्रै संख्यामा गाडी बुकिङ भएको बिक्रेताहरुको भनाइ छ ।
‘हामी अन्तिम दिन १० देखि १२ युनिट कार डेलिभरी दिनेगरी काम गरिरहेका छौं । दुई दिनको बुकिङबाट त्यो सम्भव देखिएको छ । शनिबार र आइतबार थप राम्रो हुने अपेक्षा छ’, इलाइट मोटर्स पोखराका चेयरम्यान गोपाल बरालले भने ।
इलाइट मोटर्सले पोखरामा निसान, ओमोडा/जेको, लीपमोटर, जीकर र सिट्रोनका गाडी बिक्री गर्दै आएको छ ।
स्थानिय बजारमा हुने यस्ता अटो शोले बजारमा राम्रै चर्चा पाउने गर्छन् । त्यसमा आयातकर्ताले पनि राम्रैसँग चासो दिने भएको कारण उपभोक्ताले पनि नयाँ ट्रेन्डलाई बुझ्न सक्छन् । अर्को महत्वपूर्ण कुरा एकै स्थानमा धेरै ब्राण्डका गाडी अवलोकन गर्न पाइने भएको कारण गाडी किन्न चाहनेले एकै स्थानमा धेरै ब्राण्डका उत्पादन हेरेर आफ्नो उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।

