डुब्यो अर्को चिनियाँ विद्युतीय कार बनाउने कम्पनी

काठमाडौं । विद्युतीय कार उत्पादन गर्ने चिनियाँ स्टार्टअप कम्पनी डब्लुएम मोटर टाट पल्टिएको छ । कम्पनीले बैंकरप्सी फाइल गर्दै टाट पल्टिएको घोषणा गरेको हो ।

कुनै समय चीनमा निकै राम्रो ब्यापार गर्न सफल ब्राण्डहरु अहिले एकपछि अर्को गर्दै बैंकरप्सी फाइल गर्दैछन् । कम्पनीहरु निरन्तर घाटामा जान थालेसँगै बैंकरप्सी बढेको हो । पछिल्ला ५/६ महिनामा मात्रै आधा दर्जन स्टार्टअप कम्पनीले बैंकरप्सी फाइल गरिसकेका छन् ।

डब्लूएम मोटरले विद्युतीय कारको भिडभाड पूर्ण बजार र घट्दो स्थानीय मागका कारण बैंकरप्सी फाइल गरेको जनाएको छ । संघाईको अटो कम्पनी डब्लुएमले गत शनिबार स्थानिय अदालतमा बैंकरप्सीको निवेदन दर्ता गरेको हो ।

डब्लुएम मोटरलाई चीनको इन्टरेनट जायन्ट बाइडु र टेक कम्पनी ट्रान्सेन्टको ब्याकिङ थियो । तर, पनि कम्पनीले आफुलाई जोगाउन सकेन ।

विश्व इलेक्ट्रीक कार बजारमा चीनले नेतृत्व गरिरहेको भएपनि धेरै कम्पनीहरु डिमान्ड कम भएको भन्दै समस्या ग्रस्थ घोषणा भइरहेका छन् । साथै, डब्लूएम मोटर्सले कोभिड १९ को संकट, पुँजी बजार घट्नु, कच्चा पदार्थको मूल्य बृद्धि र थप लगानी गर्न नसक्ने अवस्था आएकोले बैंकरप्सी फाइल गर्नु परेको जनाएको छ ।

डब्लुएम मोटर्सको वार्षिक घाटा सन् २०२१ देखि ३ वर्षमा दुई गुणाले वुद्धि हुँदै १.१३ बिलियन डलर पुगेको छ ।

काउन्टर पोइन्ट रिसर्चका अनुसार चीनमा अहिले १०० भन्दा बढि ईभी ब्राण्डहरुले गाडी उत्पादन गर्दै आएका छन् । जसमा बीवाइडी सबैभन्दा ठूलो उत्पादक हो । धेरै कम्पनी संकटमा आएसँगै चीन सरकारले अनुदान र कर छुट दिएर बचाउने प्रयास गरिरहेको छ ।


Back_to_top